अमेरिकामा हालसम्मकै धेरै संक्रमित फेला, एकैदिन थपिए एक लाख बढी संक्रमित


 



काठमाडौं, कार्तिक १५
अमेरिकामा हालसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् ।

गएको २४ घन्टामा त्यहाँ एक लाख एक हजार ३४९ जना संक्रमित फेला परेका छन्। कोरोनाभाइरसबाट दैनिक संक्रमित हुने यो संख्या अहिलेसम्मकै उच्च हो।

कुनै पनि देशमा एकैदिन एक लाखभन्दा बढी संक्रमित फेला परेको यो पहिलो पटक हो। अमेरिकामा अघिल्लो दिन बिहीबार पनि ९१ हजार ८३४ र बुधबार ८१ हजार ८११ नयाँ संक्रमित फेला परेका थिए।

मृत्यु हुनेको संख्या पनि दैनिक एक हजार आसपास हुने गरेको छ। गएको २४ घन्टामा ९८५ जनाको मृत्यु भएको छ। बिहीबार एक हजार ४१ र बुधबार एक हजार ३० जनाको मृत्यु भएको थियो।

अमेरिकामा अहिलेसम्म ९१ लख २३ हजारभन्दा बढी संक्रमित भइसकेका छन्। तीमध्ये दुई लाख ३३ हजार १३० जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या २९ लाख ५६ हजारभन्दा बढी छ।

अमेरिकामा राष्ट्रपतिको चुनाव हुँदै गर्दा संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ। त्यहाँ ३ नोभेम्बरमा ९आगामी मंगलबार० चुनाव हुँदैछ। तर, अग्रिम मतदानको सुविधालाई करीब १० करोड मतदाताले उपयोग गर्ने अनुमान गरिएको छ। शुक्रबारसम्ममा त्यहाँ आठ करोड जनाले मतदान गरिसकेका छन्।

चुनावमा निर्णायक मानिएका केही राज्यमा पछिल्लो समय कोरोनाभाइरस संक्रमण बढेपछि त्यसले चुनावी नतिजामा पनि असर गर्नसक्ने बताइएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्यान उम्मेद्वार जो बाइडेनबीच तीव्र प्रतिश्पर्धा हुने आँकलन गरिएको विस्कोन्सिनमा संक्रमण बढेको छ। संक्रमण दर बढे पनि राष्ट्रपति ट्रम्पले भने नियन्त्रणमै रहेको दाबी गरिरहेका छन्।

प्रकाशित मिति: १५ कार्तिक २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्