रोनाल्डो कोरोनामुक्त


 


युभेन्ट्स, कात्तिक १५ एजेन्सी

पोर्चुगल राष्ट्रिय टोलीका कप्तान तथा इटालियन च्याम्पियन युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

राष्ट्रिय टोलीका लागि खेल्ने क्रममा अक्टोबर दोस्रो साता रोनाल्डोलाई कोरोना संक्रमण भएको थियो । रोनाल्डो संक्रमण भएपछि सेल्फ आइसोलेसनमा बस्दै टुरिन फर्केका थिए । उनले युभेन्टस र बार्सिलोनाबीच खेलमा सहभागी हुन टुरिन फर्कने निर्णय गरेका थिए ‌।

तर बार्सिलोनाविरुद्ध खेलको अघिल्लो दिनसम्म पनि नतिजा नेगेटिभ नआउँदा रोनाल्डोले खेल्न पाएका थिएनन् । उनको अनुपस्थितिमा युभेन्टसले २–० को हार बेहोरेको थियो । यस्तै लिगमा पनि रोनाल्डोबिना युभेन्टसले अपेक्षित प्रदर्शन गर्न सकेन ।
रोनाल्डोले संक्रमण हुनुअघि लिगको २ खेलमा ३ गोल गरिसकेका छन् । अब उनले आइतबार स्पेजियाविरुद्ध खेलमा सहभागी हुने सम्भावना छ । बार्सिलोनाविरुद्ध भने अब डिसेम्बरको पहिलो साता क्याम्प नोउमा हुने खेलमा मेस्सी र रोनाल्डो भिड्नेछन् ।

प्रकाशित मिति: १५ कार्तिक २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्