आइपिएल: मुम्बईलाई १० विकेटले हराउँदै हैदराबाद प्लेअफमा


 


एजेन्सी, कार्तिक १९
सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई १० विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफमा पुगेको छ ।

मंगलबार राती हैदराबादले मुम्बईलाई १० विकेटले पराजित गर्दै प्ले अफमा स्थान बनाउँदा कोलकाता नाइट राइडर्स भने लिग चरणबाटै बाहिरिएको छ । जितका लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १७.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । हैदराबादको सानदार जितमा कप्तान डेभिड वार्नर ५८ बलमा १० चौका र छक्का १ सहित ८५ रनमा अविजित रहे । अर्का ओपनर ऋद्धिमान शाह ४५ बलमा ७ चौका र १ छक्का सहित ५८ रनमा अविजित रहे ।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङ थालेको मुम्बईले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । मुम्बईका काइरन पोलार्ड २५ बलमा २ चौका र ४ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए ।

तेस्रो ओभरको तेस्रो बलमा तीव्र गतिका बलर सन्दीप शर्माले कप्तान रोहित शर्मालाई कप्तान डेभिड वार्नरबाट ४ रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाएका थिए । पाँचौ ओभरको चौथो बलमा सन्दीपलेनै अर्का ओपनर क्विन्टन डी ककलाई २५ रनमा बोल्ड आउट गरे । डी ककले १३ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए ।

तेस्रो विकेटका लागि इशान किशन र सूर्यकुमार यादवले ४२ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए । तर १२ औं ओभरको पहिलो बलमा शहबाज नदीमले विकेटकिपर ऋद्धिमान शाहबाट यादवलाई ३६ रनमा क्याच गराउँदै खेलमा फर्काएका थिए । यादवले २९ बलमा ५ चौका प्रहार गरे । नदीमले दुई बलपछि क्रुनाल पान्ड्यालाई केन विलियम्सनबाट शून्यमा क्याच आउट गराएपछि मुम्बई ८१–४ को कमजोर अवस्थामा पुगेको थियो ।

राशिद खानले १३ औं ओभरको पहिलो बलमा सौरभ तिवारीलाई शाहबाट एक रनमा क्याच आउट गराएका थिए । सन्दीपले १७ औं ओभरको तेस्रो बलमा किशनलाई ३३ रनमा बोल्ड आउट गरे । किशनले ३० बलमा १ चौका र २ छक्का प्रहार गरे । नाथन कुल्टर नाइल एक रनमा आउट भए । अन्तिम ओभरको तेस्रो बलमा जेसन होल्डरले पोलार्डलाई फुलटस बलमा बोल्ड आउट गरेका थिए । जेम्स प्याटिनसन ४ रनमा अविजित रहे ।

हैदराबादका सन्दीप शर्माले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । शहबाज नदीमले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । राशिद खानले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । जेसन होल्डरले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

समान १४ अंक भएपनि नेटरनरेटको आधारमा हैदराबादले कोलकातालाई पछि पार्दै अन्तिम चारमा रहेर प्ले अफमा स्थान बनाएको । समान १४ अंक भएपनि नेटरनरेटको आधारमा हैदराबाद तेस्रो र बेंगलोर चौथो स्थानमा रहँदै प्ले अफमा पुग्दा कोलकाता पाँचौं स्थानमा रहेर बाहिरियो ।

पहिलो क्वालिफायरमा शीर्षस्थानको मुम्बई इन्डियन्स र दोस्रो स्थानको दिल्ली क्यापिटलसबीच प्रतिस्पर्धा हुने छ । एलिमिनेटरमा तेस्रो स्थानको हैदराबाद र चौथो स्थानको रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुने छ ।

प्रकाशित मिति: १९ कार्तिक २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्