दिल्ली पहिलो पटक आइपिएलको फाइनलमा


 


एजेन्सी, कार्तिक २४
दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासमा पहिलो पटक फाइनलमा पुगेको छ । आइतबार राती सम्पन्न दोस्रो क्वालिफायर खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाउँदै इतिहास रचेको हो ।

दिल्लीले उपाधिको लागि फाइनलमा मंगलबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । जितका लागि १ सय ९० रनको बलियो विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रन बनाउन सक्यो । हैदराबादलाई अन्तिम १२ बलमा जितको लागि ३० रन आवश्यक परेको थियो । १९ औं ओभरमा रबाडाले ८ रन खर्चेर ३ विकेट लिदै जित सहज बनाएका थिए ।

हैदराबादलाई जितको लागि अन्तिम ओभरमा २२ रन चाहिएको थियो । एनरिच नोर्कियाले ४ रन खर्चिदै जित पक्का गरे । १९ औं ओभरको दोस्रो बलमा कागिसो रबाडालाई युवा ब्याट्सम्यान अब्दुल सामदले छक्का प्रहार गरेपछि खेल थप रोमान्चक बनेको थियो । तर तेस्रो बलमा सामद ठूलो सट खेल्नेक्रममा वैकल्पिक फिल्डर किमो पलबाट ३३ रनमा समातिन पुगे ।

अब्दुलले १६ बलमा २ छक्का र २ चौका प्रहार गरे । लगत्तै अर्को बलमा राशिद खान ११ रनमा क्याच आउट हुन पुगेपछि हैदराबादको जित टाढिएको थियो । पाँचौ बलमा श्रीवात्स गोस्वामी स्टोइनिसबाट क्याच आउट हुन पुगे ।

हैदराबादका मध्यक्रमका केन विलियम्सनले ४५ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् । दोस्रो ओभरको पहिलो बलमै तीव्र गतिका बलर कागिसो रबाडाले ओपनर तथा कप्तान डेभिड वार्नरलाई २ रनमा बोल्ड गर्दै दिल्लीलाई महत्वपूर्ण सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि प्रियम गर्ग र मनिष पान्डेले ३१ रनको साझेदारी गरेका थिए ।

पाँचौ ओभरको चौथो बलमा मार्कस स्टोइनिसले गर्गलाई १७ रनमा बोल्ड आउट गरे । गर्गले १२ बलमा २ छक्का प्रहार गरे । यसै ओभरको अन्तिम बलमा मनिष पान्डे ठूलो सट खेल्नेक्रममा मिडअनमा एनरिच नोर्कियाबाट २१ रनमा आउट भएपछि हैदराबादको दबाबमा परेको थियो । पान्डेले १४ बलमा ३ चौका प्रहार गरे ।

चौथो विकेटका लागि केन विलियम्सन र जेसन होल्डरले ४६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । स्पिनर अक्षर पटेलको बलमा ठूलो सट खेलेका होल्डर प्रबिन दुबेबाट ११ रनमा क्याच आउट हुन पुगे । पाँचौ विकेटका लागि अब्दुल र विलियम्सनले ३१ रनको ५७ महत्वपूर्ण साझेदारी गरेपछि खेल रोमान्चक अवस्थामा पुगेको थियो ।

तर १७ औं ओभरको पाँचौ बलमा मार्कस स्टोइनिसले केन विलियम्सनलाई कागिसो रबाडाबाट क्याच आउट गराएपछि दिल्ली जिततर्फ अघि बढेको थियो ।
दिल्लीका तीव्र गतिका बलर कागिसो रबाडाले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । मार्कस स्टोइनिसले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । अक्षर पटेलले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८९ रन बनाएको थियो । ओपनर शिखर धवन ५० बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ७८ रनको योगदान दिए । शिम्रन हेटमायर २२ बलमा ४ चौका र १ छक्का सहित ४२ रनमा अविजित रहे ।

दिल्लीले मार्कस स्टोइनिसलाई शिखर धवनका साथ ओपनिङ गराउने निर्णय लिएको थियो । जुन निर्णयलाई दिल्लीका ओपनरले सहित सावित गर्दै पहिलो विकेटका लागि ८.२ ओभरमा ८९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । स्पिनर राशिद खानले नवौं ओभरको दोस्रो बलमा स्टोइनिसलाई ३८ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । स्टोइनिसले २७ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि धवन र कप्तान श्रेयस एरेले ४० रनको साझेदारी गरेका थिए । जेसन होल्डरको १४ औं ओभरको अन्तिम बलमा ऐर मनिष पान्डेबाट २१ रनमा समातिन पुगे । ऐरले २० बलमा १ चौका प्रहार गरे । धवन सन्दीप शर्माको १९ औं ओभरको तेस्रो बलमा एलबिडब्लू आउट भएका थिए । फुलटस बलमा ठूलो सट खेल्ने धुनमा मिस भएपछि एलबिडब्लू आउट हुन पुगेका थिए । तेस्रो विकेटका लागि धवन र हेटमायरले ५२ रनको साझेदारी गरेका थिए ।

राशिद खानले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए । जेसन होल्डरले ४ ओभरमा ५० रन खर्चेर १ विकेट लिए । सन्दीप शर्माले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । उपाधिको लागि दिल्लीले मंगलबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्ने छ । मुम्बईले पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

प्रकाशित मिति: २४ कार्तिक २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्