चेल्सी एभर्टनसँग स्तब्ध


 


एजेन्सी, मंसिर २८
इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी एभर्टनसँग स्तब्ध बनेको छ । चेल्सी घरेलु टोलीसँग १–० ले स्तब्ध बनेको हो ।

यससँगै चेल्सीको १७ खेलपछि अपराजित यात्रामा पुर्णविराम लागेको छ । सेप्टेम्वरमा प्रिमियर लिगमै लिभरपुलसँग २–० ले पराजित भएयता चेल्सी १७ खेलसम्म अपराजित रहेको थियो । गुडिसन पार्कमा शनिबार राति भएको खेलमा चेल्सीलाई स्तब्ध पार्न गिल्फी सिगुर्डसनले पहिलो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।

सिगुर्डसनले खेलको २२औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । पेनाल्टी बक्समा गोलरक्षक इडुआर्ड मेन्डीले डोमिनिक काल्भर्ट लेविनलाई फल गरेपछि रेफ्रीले एभर्टनलाई पेनाल्टी प्रदान गरेको थियो ।

२७औं मिनेटमा चेल्सी बराबरीबाट चुक्यो । बेन चिलवेलको फ्रिकिकमा ओलिभर जिरुउडले छाडेको बललाई कोर्ट जोउमाले गरेको प्रहार गोलरक्षक जोर्डन पिकफोर्डले सहजै बचाए ।
४०औं मिनेटमा एभर्टन अग्रता दोब्बर पार्नबाट चुक्यो । काउन्टर एट्याकमा एलेक्स इओवीको पासमा सिगुर्डसनले मिलाईदिएको पासलाई रिचार्लीसनले सदुपयोग गर्न सकेनन् ।

दोस्रो हाफको शुरुमै चेल्सी बराबरीबाट चुक्यो । मासन माउन्टको प्रहारमा गोलरक्षक भाग्यमानी बने । माउन्टको प्रहार पिकफोर्डले बचाउने प्रयास गरेपनि पोस्टनजिकैबाट बाहिरिएको थियो ।
६३औं मिनेटमा बिन चिलवेलले पेनाल्टी बक्समा लेविनलाई लडाएको भन्दै एभर्टनले फल अपिल गरेपनि भिएआरले मान्यता दिएन ।

८१औं मिनेटमा मासन माउन्टको प्रहार पोस्टमा लाग्दा चेल्सी पुनः बराबरीबाट चुक्यो । ८४औं मिनेटमा ओलिभर जिरुउडको प्रहार बाहिरिदा चेल्सी स्तब्ध बन्न पुग्यो ।

यो हारसँगै चेल्सीले शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । शीर्षस्थानको टोटेनहम र लिभरपुलको समान २४ अंक छ । चेल्सी २२ अंकसहित तेस्रो स्थानमा यथावत छ । एभर्टन २० अंकसहित सातौ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति: २८ मंसिर २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्