राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता सुरु


 



काठमाडौँ, २४ वैशाख । नेपाल क्योकुसिन कराते डो सङ्घको आयोजनामा १८औँ राष्ट्रिय पुरुष तौल समूह तथा १७औँ राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता आजदेखि सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गर्नुभयो । प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी र एपीएफ गरी नौ टिमका ८० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

पुरुषमा चार र महिलामा ए गरी पाँच स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजक समितिका अध्यक्ष जगतप्रसाद गौचनले जानकारी दिनुभयो । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको पहिलो दिन पुरुष ७० किलो तौल समूहमा आर्मीका विकास गुरुङ, आईकेओका अमित महर्जन, एपीएफका अजय तामाङ, क्योकुसिनका विशाल सुनुवार, केडब्लुडब्लुका सरोज श्रेष्ठ, क्योकुसिन कानका रवीन्द्र बुढाथोकी, सो क्योकुसिनका सागर श्रेष्ठ र एपीएफका पेम्बा छिरिङ तामाङ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पुरुष ५० किलो तौल समूहमा एपीएफका सुनिल तामाङ, क्योकुसिन वज्रका विज्ञान तोलङगे, आइकेकेएफका सुशील अधिकारी, आइकेओका दीपेन्द्र रोकाय, क्योकुसिन वज्रका हेमन्त बस्नेत, आइकेएका अनिल लोहार, आइकेकेएफका सुजन तामाङ र क्योकुसिन वज्रका सुसन लामा क्वाटरफाइनलमा पुगे ।

त्यस्तै महिला खुलामा आर्मीकी अनुपा नेपाली, एपीएफकी रिना माझी, क्योकुसिन बज्रकी गायत्री रोका, एपीएफकी सुमित्रा आले, एपीएफकी अनिशा तामाङ, आर्मीकी सपना आले, आर्मीकी अप्सरा कुमाल र क्योकुसिन बुदोकी कविता मोक्तान क्वाटरफाइनलमा स्थान बनाउन सफल भए ।

पुरुष र महिला दुवैको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः १० हजार, पाँच हजार र दुई हजार पाँच सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रकाशित मिति: २४ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्