दक्षिण अफ्रिका इनिङ अन्तरले विजयी


 


एजेन्सी, पाैष १५
पूर्व कप्तान फाफ डु प्लेसिसको सानदार ब्याटिङको सहयोगमा श्रीलंकासँग पहिलो टेष्ट खेलमा दक्षिण अफ्रिका ४५ रनको इनिङ अन्तरले विजयी भएको छ । योसँगै दुई टेष्टको सिरिजमा घरेलु टोली दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ ।

पहिलो इनिङमा २ सय २५ रनले पछि परेको श्रीलंका दोस्रो इनिङमा चौथो दिन ६५-२ को अवस्थाबाट सुरुवात गर्दा १ सय ८० रनमा अल आउट हुनेपछि इनिङ अन्तरले पराजित भएको हो । कुशल परेराले ८७ बलमा १० चौका सहित सर्वाधिक ६४ रनको योगदान दिए । वानिन्दु हसरंगा ५९, दीनेश चान्डिमल २५ र निरोशन डिक्वेलाले १० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । दक्षिण अफ्रिका लुन्गिी एनगिडी, एनरिच नोर्किया, वियन मुल्डर र लुथो सिपम्लाले २-२ विकेट लिए ।

अफ्रिका पहिलो इनिङमा ६ सय २१ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिका फाफ डु प्लेसिसले आफ्नो टेष्ट करिअरकै उत्कृष्ट प्रर्दशन गर्नेक्रममा २ सय ७६ बलमा २४ चौका सहित १ सय ९९ रनमा क्याच आउट हुन पुगे । १ सय ३८ औं ओभरमा वानिन्दु हसरंगाको बलमा मिड अनमा करुणारत्नेबाट क्याच आउट भएपछि आफ्नो टेष्ट करिअरको पहिलो दोहोरो शतक बनाउन डु प्लेसिस मात्र एक रनले चुकेका थिए । फाफ डु प्लेसिस प्लेयर अफ द म्याच चुनिए ।

ओपनर डिएन एल्गरले १ सय ३० बलमा १६ चौका सहित शतक नजिक पुगेर ९५ रनमा आउट हुन पुगे । एडेन मारक्रम ६८, टेम्बा बभुमा ७१, केशव महाराज ७३ र वियन मुल्डर ३६ रनमा आउट भए । श्रीलंका वानिन्दु हसरंगाले सर्वाधिक ४ विकेट लिए । विश्व फ्रेर्नान्डो ३ र दसुन शनका २ विकेट लिए ।

त्यसअघि सुपर स्पोर्ट्स पार्कमा टस जितेर ब्याटिङ रोजेको श्रीलंका पहिलो इनिङमा ३ सय ९६ रनमा अल आउट भएको थियो । सुरुवात कमजोर गरेपनि चौथो विकेटका लागि चान्डिमल र शिल्भाले १ सय ३१ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए । चान्डिमल १ सय ६१ बलमा ११ चौका सहित ८५ रनमा आउट भए । डी शिल्भा १ सय ६ बलमा ११ चौका र १ छक्का सहित ७९ रनमा रिटायर्ट हर्ट भएका हुन पुगे ।

पाँचौ विकेटका लागि चान्डिमल र निरोशन डिक्वेलालले ९९ रनको साझेदारी गरेका थिए । मुल्डरलेनै डिक्वेलालाई ४९ रनमा एलबिडब्लू आउट गरे । डिक्वेलाले ८६ बलमा ६ चौका प्रहार गरे । कप्तान दिमुथ करुणरत्नेलाई लुन्गी एनगिडीले २२ रनमा बोल्ड आउट गरे ।

कुशल परेरा १६ र कुशल मेन्डिस १२ रनमा आउट हुन पुगेपछि एक समय कमजोर सुरुवात गरेका थिए । शनका ६६ रनमा अविजित रहे । दक्षिण अफ्रिका लुथो सिपम्ला ४ र वियन मुल्डरले ३ विकेट लिए । दोस्रो टेष्ट आइतबारबाट सुरुहुने छ ।

प्रकाशित मिति: १५ पुस २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्