इन्टर मिलानसँग युभेन्टसको हार


 


एजेन्सी, माघ ५
इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले युभेन्टसलाई पराजित गरेको छ । घरेलु मैदानमा इन्टरले युभेन्टसमाथि २–० को जित निकालेको हो ।

इन्टरको जितमा आर्टुरो भिडाल र निको बरेल्लाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल सम्भव भएको थियो । मिलानो इटालीमा आइतबार राति भएको खेलको १२औं मिनेटमा भिडालको गोलबाट घरेलु टोलीले १–० को अग्रता बनाएको थियो । उनले निकोलो बरेल्लाको पासमा गोल गरेका थिए ।

५२औं मिनेटमा बरेल्लाले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । उनले एलेसान्द्रो बास्टोनीको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर २–० ले विजयी हुन सफल भयो ।

युभेन्टसले अग्रपङ्तिमा क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटालाई खेलाएपनि उनीहरुको प्रदर्शन फितलो बन्यो । सिरी ‘ए’ मा युभेन्टसको यो दोस्रो हार हो ।

युभेन्टसमाथिको जितसँगै इन्टरले शीर्षस्थानको एसी मिलानसँग अंक बराबरी गरेको छ । इन्टरको १८ खेलबाट ४० अंक पुगेको छ । एक खेल कम खेलेको मिलानको पनि ४० अंक छ । पराजित युभेन्टस १७ खेलबाट ३३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

यस्तै सिरी ‘ए’ को अर्काे खेलमा नेपोलीले फियोरेन्टिनामाथि ६–० को सानदार जित निकालेको छ ।नेपोलीको जितमा लोरेन्जो इन्सिग्नेले दुई तथा डिएगो डिम्मी, हिर्भिङ लोजानो, पिओटर जिलेन्स्की र माटियो पोलिटानोले समान एक गोल गरे ।

यो जितसँगै नेपोली १७ खेलबाट ३४ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित फियोरेन्टिना १८ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

प्रकाशित मिति: ५ माघ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्