कुन–कुन अस्पतालमा लगाइँदैछ कोरोनाविरूद्धको खोप ?




काठमाडौं, माघ १२
सरकारले आगामी बुधबारदेखि देशव्यापी रूपमा कोरोना भाइरसविरूद्धको खोप लगाउनेक तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको उद्घाटन गरेपछि सातै प्रदेशमा खोप लगाउन सुरू गरिनेछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरूमा ६२ वटा अस्पतालबाट खोप लगाउने भनेको छ। अस्पतालको संख्या बढ्न सक्ने स्वास्थ्य सेवा विभागअन्तर्गत खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जनाकारी दिए।

उनका अनुसार सबै जिल्लाका जिल्ला अस्पताललाई खोप केन्द्र बनाइने छ। काठमाडौं उपत्यकाका हकमा भने महाशाखाले खोप लगाउनलाई १७ वटा अस्पताल तोकेको छ। जसमा काठमाडौंका गंगालाल अस्पताल, नेपाल मेडिकल कलेज, नेपाल प्रहरी अस्पताल, टिचिङ अस्पताल, आर्मी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, आयुर्वेद तालिम केन्द्र कीर्तिपुर, वीर अस्पताल, प्रसुति गृह, टेकु अस्पताल, सिभिल अस्पताल र काठमाडौं मेडिकल कलेज छन्।

यसैगरी ललिपुरमा पाटन अस्पताल, किस्ट मेडिकल कलेज र आनन्द वन अस्पताल तोकिएको छ। भक्तपुरका कोरियन अस्पताल र भक्तपुर अस्पतालबाट पनि खोप लगाइने छ।

उपत्यकाबाहेक चितवन, कास्की, रुपन्देही र मोरङजस्ता धेरै अस्पतालको संख्या भएका जिल्लामा पनि एकभन्दा बढी अस्पतालबाट खोप लगाइने महाशाखा प्रमुख गौतमले जानकारी दिए। बाँकी जिल्लाका हकमा भने जिल्ला अस्पतालबाटै खोप लगाइने उनले बताए।

सरकारले सुरूमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिने कर्मचारीलाई खोप लगाउने तयारी गरेको छ। जसमा फोहोर व्यवस्थापनमा काम गर्ने कर्मचारी, एन्बुलेन्स चालक र कोरोना नियन्त्रणमा खटिने अन्य कर्मचारी रहेका छन्। गौतमले ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य रहेको बताए। उनले बुधबारबाट सुरू हुने खोप अभियान एक साताभित्र सक्ने गरी काम अघि बढाइने जनाए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News