सिटी लगातार १८ खेलमा अपराजित, युनाइटेड पछ्याउँदै


 


एजेन्सी, फागुन १०
आर्सनललाई हराउँदै म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा जीतको शृङ्खला १८ खेल पुर्याएको छ । आइतबार राति सम्पन्न खेलमा राहिम स्टर्लिङले खेलको दोस्रो मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको सिटीले गत डिसेम्बर १८ देखि कुनै पनि अंक गुमाएको छैन । जीतसँगै सिटीले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ । अब लिगमा १३ खेल मात्र बाँकी रहेको छ ।

उता, म्यान्चेस्टर युनाइटेडले संघर्षरत न्युक्यासल युनाइटेडलाई हराउँदै लिगको दोस्रो स्थानमा कायम छ । युनाइटेडले न्युक्यासललाई ३–१ गोलले हरायो ।

मार्कस रासफोर्डले सिजनको १८ औँ गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए पनि एलान सेन्ट म्याक्सिमिनले गोल गर्दै खेल बराबरी गरे । तर, दोस्रो हाफमा ड्यानीयल जेम्स र ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडको जीत सुनिश्चित गरे । फर्नान्डेजको यो सिजनको २२ औँ गोल हो ।

आइतबार नै भएका अन्य खेलमा जोसे मोरिन्होको टोटनह्याम वेस्ट ह्यामसँग १–२ गोलले पराजित भयो । लेस्टर सिटीले भने एस्टन भिल्लालाई समान २–१ गोल अन्तरले हरायो ।

प्रकाशित मिति: १० फाल्गुन २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्