त्रिविको परीक्षा केन्द्रमा अब सीसी क्यामेरा अनिवार्य


 



काठमाडौं, फागुन २२
त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । परीक्षालाई व्यवस्थित बनाउन त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षामा सीसी क्यामेरालाई अनिवार्य गरेको हो ।

योसँगै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी २० चैतभित्र परीक्षा सञ्चालन, उत्तरपुस्तिका सिलबन्दी कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य आउनेगरी डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने सीसी क्यामेरा जडान गरी सोको विवरण उपलब्ध गराउन सम्बन्धित परीक्षा केन्द्रलाई सूचित गरेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षाको सीसी क्यामेराको दृश्यसहित सिलबन्दी गरेको उत्तरपुस्तिका पठाउनुपर्ने प्रावधान ल्याएको हो ।परीक्षा र उत्तरपुस्तिकामा धाँधली नहोस् भन्दै यस्तो निर्णय गरिएको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

‘वार्षिक परीक्षा प्रणालीअन्तर्गतका सम्पूर्ण परीक्षा केन्द्रलाई २० चैतभित्र परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य आउनेगरी कम्तीमा डेढ महिनासम्मको रेकर्ड गर्न मिल्ने सीसी क्यामेरा जडान गर्नुहुन अनुरोध छ’ परीक्षा नियन्त्रण कार्यालय बल्खुले निकालेको सूचनामा भनिएको छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्