लाेकमान जाेगाउन सक्रिय यी हुन् कांग्रेस नेता


 


congress-leadderकाठमाडाैं, कार्तिक ५

अख्तियार प्रमुख लाेकमानसिंह कार्कीलार्इ जाेगाउन कांग्रेसका केही हस्तीहरु पुरै लागेका छन् । संसदमा महाभियाेग दर्ता भएकाे र पुरै लाेकमानकाे विराेधमा समाज एकाेहाेरिरहेकाे बेला कांग्रेसमा माथि तस्बिरमा उल्लेखित नेताहरू कुनै हालतमा उनीमाथि कारवाही गर्न नहुने लबिङमा छन् । निलम्बित प्रमुख आयुक्त कार्कीका पक्षमा सबैभन्दा खुलेर गृहमन्त्री विमलेन्द्र निधी लागेका छन् ।

निधीले विषायान्तर गर्नका लागि एमालेले सरकार ढाल्ने अस्त्रका रुपमा प्रचण्डलाई फँसाएको हो, उनलाई थाहै थिएन भन्दै कांग्रेसका नेताहरुलाई सशंकित बनाइरहेका छन् । निधीलाई साथ दिन अग्रपंक्तिमा देखिएका अर्का नेता हुन् डा. रामशरण महत । कम्युनिस्टहरुले कांग्रेसलाई जालमा पारे भन्दै उत्तेजित बनाउने र कार्कीलाई जोगाउने अभियानमा उनी सक्रिय छन् । विहीबारको केन्द्रीय समितिको बैठकमा उनले त्यही आशयमा धारणा राखेका थिए ।

संविधानले सबै कुरा टुंगो लगाइसकेपछि हिन्दु धर्मको मुद्दा उचालेर अस्थिरता निम्त्याउन तल्लीन महामन्त्री डा. शशांक कोइराला पनि कार्कीका पक्षमा देखिएका छन् । उनीसहित कोइराला परिवारका सुजाता र शेखर समेत कार्कीका पक्षमा दृढ देखिएका छन् ।

कार्कीको पक्षमा दृढतापूर्वक लाग्ने अर्का नेता हुन् डा. नारायण खड्का । बहुचर्चित त्रिपाल काण्डमा कार्कीकै कारण छुट पाएका खड्काले त्यही गुन तिर्नका लागि उनलाई बचाउन लबिङ गरिरहेका छन् । भूकम्पका बेलाका त्रिपाल घोटालामा मन्त्री खड्का र सचिव अर्जुन कार्कीलाई सफाइ दिएर लोकमानले तल्लो तहका कर्मचारीमाथि मुद्दा चलाएका थिए ।

लोकमानका पक्षमा लबिङ गरिरहेका अर्का नेता डा. मीनेन्द्र रिजालको तर्क पनि निधीकै जस्तो छ– प्रस्ताव पारित भयो भने एमाले र माओवादी मिलेर सरकार बनाउँछन्, हामीलाई बाहिर फाल्छन् । तिनीहरुका साथै अर्जुननरसिंह केसी, गुरुराज घिमिरे, एनपी साउँद, रमेश लेखकलगायतका नेताहरुले पनि लोकमानको बचाउ गरिरहेका छन् ।

चैतमा प्रधानमन्त्री हुने गरी माओवादीसँगको भएको सम्झौता बीचैमा तुहिन्छ कि भनेर सशंकित देखिएका देउवा त्यसमा आश्वस्त हुनासाथ कार्कीलाई हटाउन तयार हुने बुझाइ माओवादीवृत्तमा छ ।

प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्