सुदूरपश्चिम स्पोर्टस अवार्डः सात विधाको मनोनयन सार्वजनिक


 



धनगढी, फागुन २७
धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डका सात विधाको मनोनयन सार्वजनिक गरिएको छ ।

वर्ष २०७६ मा वर्षभरिको प्रदर्शनका आधारमा अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले अवार्ड दिइने ९ विधामध्ये सात विधाको मनोनयन सार्वजनिक गरिएको हो । यसअघि दुई पटक पत्रकार सम्मेलन गर्दै चार विधाको मनोनयन सार्वजनिक गरिएकोमा विहीबार थप तीन विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

विहीवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी नवजीवन हस्पिटल बर्ष पुरुष खेलाडी, नोभा हस्पिटल बर्ष महिला खेलाडी र दिनेश सोप बर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

कैलाली हस्पिटल दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको बर्ष पुरुष विधा प्रायोजक नवजीवन हस्पिटलका सञ्चालक योगेन्द्र ओझा, नोभा हस्पिटलकी प्रशासकीय अधिकृत सुमन भट्ट र दिनेश सोपका ब्रान्ड निर्देशक आदित्य हमालले मनोनयन सार्वजनिक गरे ।

नवजीवन हस्पिटल वर्ष पुरुष खेलाडीको मनोनयनमा एथलेटिक्सका गोपीचन्द्र पार्की, दुवाथोलनका हिमाल टमट्टा र तेक्वान्दोका वीरबहादुर महरा परेका छन् । तीनै जनाले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका थिए ।

नोभा हस्पिटल वर्ष महिला खेलाडीको मनोनयनमा पौडीकी गौरिका सिंह, तेक्वान्दोकी आयशा शाक्य र कुस्तीकी संगिता धामी परेकी छिन् । १३ औं दक्षिण एसियाली खेलकुदमा गौरिकाले चार स्वर्ण सहित ९ पदक जितेकी थिइन् भने आयशाले तेक्वान्दोमा दोहोरो स्वर्ण जितेकी थिइन् । संगिताले सागको इतिहासमा पहिलो पटक कुस्तीमा स्वर्ण जिताएकी थिइन् ।

दिनेश सोप वर्ष प्रशिक्षकको मनोनयनमा भलिबलका जगदीश भट्ट, कुस्तीका राजेन्द्र चन्द र कबड्डीका तारासिंह भाट परेका छन् । जगदिशले १३ औं दक्षिण एसियाली खेलकुदमा महिला भलिबलमा रजत पदक जिताएका थिए भने सेन्ट्रल जोन भलिबलमा स्वर्ण जिताएका थिए । राजेन्द्रले १३ औं दक्षिण एसियाली खेलकुदको इतिहासमा पहिलो पटक कुस्तीमा स्वर्ण पदक सहित ७ पदक जिताएका थिए ।

तारासिंह भाटले पनि सागमा महिला कबड्डीमा नेपाललाई ऐतिहासिक रजत पदक जिताएका थिए । ईन्डो नेपाल आमन्त्रण कबड्डी प्रतियोगितामा पुरुष टीमलाई रजत जिताएका थिए ।

यसअघि माया मेट्रो हस्पिटल सुदूरपश्चिम आइकन पुरुष र तिवारी मेडिसिन डिष्टिव्युर्टस सुदूरपश्चिम आइकन महिला तथा निसर्ग हस्पिटल पर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको थियो ।

निसर्ग हस्पिटल वर्षको युवा खेलाडीको मनोनयनमा कुस्तीकी संगिता धामी, फुटबलका अर्पण कार्की र भलिबलकी पुनम चन्द परेकी छिन् । संगिताले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् । अर्पण कार्की सागमा नेपालले स्वर्ण जित्ने टोलीका सदस्य हुन् । पुनम सागमा रजत तथा सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्ने टोलीकी सदस्य हुन् ।

माया मेट्रो हस्पिटल सुदूरपश्चिम आइकन पुरुष विधामा ब्याटमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका शेर मल्ल र क्रिकेटकै सुवाश ऐर मनोनयनमा परेका छन् । तिवारी मेडिसिन डिष्टिव्युर्टस सुदूरपश्चिम आइकन महिला विधामा कबड्डीकी जयन्ती बडु, खोखो की पूजा ओड र कुस्तीकी सिंवाङगी दुवे मनोनयनमा परेका छन् ।

बिवाइसी पिपुल च्वाईस अवार्डमा पौडीकी गौरिका सिंह, क्रिकेटकी अन्जली चन्द र भलिबलकी सरस्वती चौधरी मनोनयनमा परेकी छिन् । सात विधाको मनोनयन सार्वजनिक भएपनि दुई विधाको घोषणा भने अवार्ड कार्यक्रममा नै हुने अवार्डका संयोजक प्रदीप पाठकले जानकारी दिए । उनका अनुसार न्यू सिटी पोलीक्लिनिक स्पेशल अवार्ड र सारथी अस्पताल लाईफटाईम एचिभमेन्ट अवाडको घोषणा चैत ६ गते कार्यक्रममै गरिनेछ ।

धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली अस्पताल रहेको छ । सुदूर फुड ईन्डष्ट्रिज, ब्राईटवे पब्लिक स्कुल, मेरो रेडिमेड उद्योग र घोडाघोडी हस्पिटल सह–प्रायोजक रहेको अवार्डमा वर्ष पुरुष खेलाडीलाई नवजीवन अस्पताल, वर्ष महिला खेलाडीलाई नोभा अस्पताल, पिपुल च्वाईस अवार्डलाई वनदेवी युवा क्लब र वर्ष युवा खेलाडीलाई निसर्ग अस्पतालले प्रायोजन गरेको छ ।

त्यसैगरी स्पेशल अवार्डलाई न्यू सिटी पोलीक्लिनिक, लाईफटाईम एचिभमेन्ट अवार्डलाई सारथी अस्पताल, सुदूरपश्चिम आइकन पुरुषलाई माया मेट्रो अस्पताल र महिलालाई तिवारी मेडिसिनले प्रायोजन गरेका छन् । अवार्डको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालय रहेको छ ।

नवजीवन सहकारी संस्था लिमिटेड को–अपरेटिभ्स पार्टनर र ओसन पब्लिकेसन एजुकेसन पार्टनरको रुपमा रहेको छ । धनगढी बसपार्कमा रहेको मिश्रा जनरल स्टोर र एलएनचोकमा रहेको शम्भु पुस्तक भण्डारले पनि अवार्डलाई सहयोग गरेको छ ।
अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट

महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पु¥याएको विशेष योगदानको कदर स्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाईस अवार्ड गरी ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।

अवार्डको उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाईम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिइनेछ ।

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । धनगढीको ओम प्यालेसमा आयोजना हुनेअवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्