सुदूरपश्चिम स्पोर्टस अवार्ड : गोपीचन्द्र र गौरीका उत्कृष्ट, सरस्वती लोकप्रिय




धनगढी, चैत्र ६
कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्की वर्ष पुरुष खेलाडी र पौडीकी गौरीका सिंह वर्ष महिला खेलाडीबाट सम्मानित भएका छन् ।

खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा भएको अवार्ड कार्यक्रममा पार्कीलाई नवजीवन अस्पताल वर्ष पुरुष खेलाडी र सिंहलाई नोभा अस्पताल वर्ष महिला खेलाडीको अवार्ड प्रदान गरिएको हो ।

पार्कीले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत ५ हजार मिटरको मध्यम दुरीमा पहिलो स्वर्ण पदक जित्ने किर्तिमान बनाएका थिए । पुरुष ५ हजार मिटर दौडको निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै उनले स्वर्ण जितेका थिए । भारतका सुनिल दवारलाई करिब १ सेकेन्डले पछाडि पार्दै १३ वर्ष अघि गुमेको स्वर्ण उनले फिर्ता ल्याएका थिए ।

यस्तै सिंहले १३ औं दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण दुई रजत र तीन कास्य जितेकी थिइन् । एक सय, दुई सय र चार सय मिटर फ्रिस्टाईल तथा दुई सय मिटर ब्याकस्टेकमा गरी ऐतिहासिक चार स्वर्ण जित्ने किर्तिमान उनको नाममा छ । दक्षिण एसियाली खेलकुदमा सबैभन्दा बढी नौं पदक जितेर सर्वाधिक पदक जित्ने अर्को किर्तिमान पनि उनको नाममा छ ।

यस्तै भलिबलकी सरस्वती चौधरी वर्षको लोकप्रिय खेलाडी घोषित भएकी छिन् । चौधरीलाई बनदेवी क्लव पिपुल च्वाइस अवार्ड प्रदान गरिएको हो । उनले पौडीकी गौरिका सिंह र क्रिकेटकी अन्जली चन्दलाई पछि पारिन् । चौधरीले ४५ दशमलव ९ प्रतिशत भोट पाइन् भने सिंहले ४४ दशमलव ८५ र चन्दले ९ दशमलव २५ प्रतिशत भोट पाइन् ।

नेपालको महिला भलिबल टोलीले बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्ने टीमकी महत्वपूर्ण खेलाडी थिइन् चौधरी । उनले १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई भलिबलमा ऐतिहासिक रजत पदक जित्दा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

कुस्तीका राजेन्द्र चन्द वर्ष प्रशिक्षक घोषित भएका छन् । दिनेश सोप वर्ष प्रशिक्षक अवार्ड चन्दलाई प्रदान गरिएको हो । उनको प्रशिक्षणमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुदमा कुस्तीमा पहिलो स्वर्ण जितेको थियो । उनी एक स्वर्णसहित तीन रजत र तीन कास्य गरी सात पदक जिताउने प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा १३ औं दक्षिण एसियाली खेलकुदमा कुस्तीमा सहभागीता जनाएका सबै खेलाडीले पदक जितेका थिए ।

कैलाली अस्पताल दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डमा एथलेटिक्सका लक्ष्मीदत्त भट्टलाई सारथी अस्पताल लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । तीन दशक अघि चार पटक नेपाल च्याम्पीयन बनेर धेरै एथलेटिक्स खेलाडी जन्माउने कैलालीको गेटा निवासी भट्टलाई नेपाल खेलकुद पत्रकार सञ्च कैलालीले लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरेको हो ।

तेक्वान्दोकी आयशा शाक्य र क्रिकेटकी अन्जली चन्दलाई वर्षको स्पेशल अवार्डबाट सम्मानित गरेको छ । दुबै खेलाडीलाई न्यू सिटी पोलीक्लिनिक स्पेशल अवार्ड प्रदान गरिएको हो । गत वर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आयशाले दोहोरो स्वर्णपदक जित्दै इतिहास रचेकी थिइन् ।

अन्जलीले १३ औं साग अन्तर्गत महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटको जित हात पार्दा कीर्तिमानी बलिङ गरेकी थिइन् । उनले ह्याट्रिकसहित कुनै रन नदिएर ६ विकेट लिएकी थिइन् । उनी पहिलो ओभर मेडेन राख्दै तीन विकेट, दोस्रो ओभरको अन्तिम दुई बलमा दुई विकेट र तेस्रो ओभरको पहिलो बलमा विकेट लिएर कीर्तिमान रच्न सफल भएकी थिइन् ।

यस्तै कुस्तीकी संगीता धामी निसर्ग अस्पताल वर्ष युवा खेलाडी घोषित भएकी छिन् । उनले १३ औं दक्षिण एसियाली खेलकुदमा कुस्तीमा नेपाललाई पहिलो स्वर्ण जिताएकी थिइन् । उनले ५५ किलो तौल समूहमा बंगालदेशकी रिमी सरकारलाई पराजित गर्दै स्वर्ण पदक जितेकी थिइन् । उनले नेपालभित्र आयोजना हुने सबै कुस्ती प्रतियोगितामा स्वर्ण पदक जितेकीछिन् ।

ब्याडटमिन्टनका प्रिन्स दाहाल र कुस्तीकी सिवाङ्गी दुवे सुदूरपश्चिम आइकन घोषित भएका छन् । माया मेट्रो अस्पताल सुदूरपश्चिम आइकन (पुरुष) र दुवेलाई तिवारी मेडिसियन सुदूरपश्चिम आइकन (महिला) बाट पुरस्कृत गरिएको हो । दाहालले १३ औं दक्षिण एसियाली खेलकुदमा दोहोरो रजत पदक जितेका थिए भने दक्षिण एसियाली क्षेत्रीय खेलकुदमा २१ वर्ष मुनिको प्रतिस्पर्धामा दोहोरो कास्य पदक जितेका थिए ।

जुनियर ईन्टरनेशनल च्यालेन्जसमा कास्य पदक, प्रेसिडेन्ट कप नेपाल जुनियर ईन्टरनेशनल सिरिजको १९ वर्ष मुनिमा कास्य पदक र अन्नपूर्ण अन्तराष्ट्रिय सिरिजमा ऐतिहासिक रजत पदक जितेका दाहाललाई पुरस्कृत गरिएको मञ्चले जनाएको छ ।

यस्तै १३ औ दक्षिण एसियाली खेलकुदमा नेपाललाई कुस्तीमा रजत पदक जिताउने दुबेलाई अवार्ड प्रदान गरिएको हो । उनी कम उमेरमा खुल्ला समूहमा प्रतिस्पर्धा गर्दै नेपालका लागि पदक जित्ने युवा खेलाडी हुन् । उनको राष्ट्रियस्तरका कुस्ती प्रतियोगितामा अहिलेसम्म दोस्रो भएको रेकर्ड छैन् ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News