कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ देखि


 



काठमाडौं, चैत्र १४
कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा आगामी वैशाख ७ देखि लगाइने भएको छ ।

वैशाख ७–११ सम्म दोस्रो मात्रा खोप दिने गरी तयारी भइरहेको स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा। तारानाथ पोख्रेलले बताए ।

माघ १४ देखि सुरु पहिलो चरणको खोप अभियानमा सामेल ४ लाख ३८ हजार ८ सय ७९ जनालाई दोस्रो मात्रा दिइन लागिएको हो । पहिलो चरणमा स्वास्थ्यकर्मी, कर्मचारीलगायतले ‘कोभिसिल्ड’ खोप लगाएका थिए ।

दोस्रो चरणअन्तर्गत फागुन २३ देखि खोप लगाएका १२ लाख ३४ हजार ३ सय ४८ जनालाई जेठको अन्तिम वा असारको पहिलो सातादेखि दोस्रो मात्रा खोप लगाउने तयारी रहेको डा। पोख्रेलले जनाए । उनका अनुसार हाल ५ लाख कोभिसिल्ड खोप मौज्दात छ ।

लभारतको सिरम इन्स्टिच्युट अफ इन्डियाबाट सम्झौताअनुसार समयमै खोप नआएपछि सरकारले दोस्रो मात्रा दिनकै लागि खोप मौज्दात राख्दै दोस्रो चरणको खोप अभियान स्थगन गरेको थियो ।

विज्ञहरूका अनुसार कोभिसिल्डको दोस्रो मात्रा खोप पहिलो मात्रा लगाएको ८ देखि १२ साताभित्र लगाउनुपर्छ । हालसम्म मुलुकभर १६ लाख ७३ हजार २ सय २७ जनाले कोभिसिल्ड खोप लगाइसकेका छन् । खोप लगाउने कसैमा पनि जटिल स्वास्थ्य समस्या नदेखिएको डा. पोख्रेलको भनाइ छ ।

प्रकाशित मिति: १४ चैत्र २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्