साझा प्रकाशनको जग्गा लिलामी रोक्न प्रधानमन्त्रीको निर्देशन


 


Prachanda-Chairman-of-Maoist-Centerकाठमाण्डौ , कार्तिक ८

प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुरको पुल्चोकस्थित साझा प्रकाशन केन्द्रीय कार्यालयको जग्गा लिलामी प्रक्रिया रोक्न निर्देशन दिएका छन् ।

ऋण तिर्न नसकेपछि सहकारी विकास बैंकले प्रकाशनको जग्गा लिलामीको प्रक्रिया प्रारम्भ गरेकोमा आज प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिक्षामन्त्रीसहित सम्बन्धित निकायका प्रतिनिधिलाई लिलामी प्रक्रिया रोक्न निर्देशन दिएका हुन् ।

साझाले बैंकलाई तिर्नुपर्ने ७ करोड ५० लाख र अन्य ऋण भुक्तानीका लागि आफ्ना अन्य जग्गा बिक्री गर्नेसमेत निर्णय गरेकोमा प्रधानमन्त्रीले अनुदान र ऋण गरी ४० करोड निकासा दिइने आश्वासन दिए ।

शिक्षामन्त्री धनीराम पौडेल, प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, सञ्चालक प्रदीप नेपाल, दीनानाथ शर्मालगायतको उपस्थितिमा भएको छलफलमा प्रधानमन्त्रीले दाहालले प्रकाशनलाई सरकारले २० करोड ऋण र २० करोड अनुदान दिई संस्था बचाइने बताए ।

शिक्षामन्त्री पौडेलले साझा प्रकाशन बचाउन प्रधानमन्त्रीको निर्देशन बमोजिम आवश्यक फाइल अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिए ।

प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्