भारतमा कोरोना परास्त गर्नेमा अर्को समस्या, क्यान्सरसंग तुलना


 



काठमाडौं, वैशाख २५
भारतमा कोरोनाभाइरसको संक्रमणबाट निको भएकाहरुमा फेरि अर्को समस्या देखिन थालेको छ । यहाँ कोरोना संक्रमणबाट निको भएका मधुमेह पीडितहरुमा म्युकरमाइकोसिस भन्ने अर्को संक्रमण देखिएको चिकित्सकहरुले बताएका छन् ।

गुजरातको अहमदाबादस्थित सिभिल अस्पतालमा हालै कोरोनाका १२० भन्दा धेरै यस्ता केस दर्ता भएका छन् जसमा १० जनाभन्दा धेरैको मृत्यु नयाँ संक्रमणका कारण भएको छ । यसबाहेक यहाँ १० भन्दा धेरै मानिसहरुले म्युकरमाइकोसिस संक्रमणका कारण आँखाको ज्योति गुमाएका छन् । यो संक्रमण आँखासहित शरीरका कैयौं भागमा भइरहेको छ ।

म्युकरमाइकोसिसको संक्रमणका घटना गुजरातमा मात्र नभर्इ देशका अन्य क्षेत्रमा पनि देखिएका छन् । दिल्लीमा पनि कोरोनाभाइरस संक्रमणबाट निको भएका बिरामीहरु म्युकरमाइकोसिसबाट पीडित भइरहेका छन् ।

सुरतमा पनि अहिलेसम्म म्युकरमाइकोसिसका १०० भन्दा धेरै केस आएका छन् । यीमध्ये २० जना बिरामीले आफ्नो आँखाको ज्योति सदाका लागि गुमाएका छन् ।

वडोदरा, राजकोटमा पनि म्युकरमाइकोसिका केसहरु भेटिएका छन् । गुजरातमा मात्र अहिलेसम्म ५ सयभन्दा धेरै म्युकरमाइकोसिका केस आइसकेका छन् । यो संक्रमणलाई क्यान्सरसँग तुलना गरिएको छ ।

अहमदाबादको सिभिल अस्पतालकी इएनटी प्रमुख डा. बेला प्रजापतिले ५० वर्षमाथिका र मधुमेशबाट पीडितमा धेरै यो संक्रमण देखिएको बताइन् । उनकाअनुसार यो संक्रमणपछि नाकमा असहज हुने र छाला रातो हुने लक्षण देखिन्छ । छाला रातो हुँदै उपचार गरेमा भने यो संक्रमणबाट बच्न सकिन्छ । सुरुमै सही उपचार नभएमा यो संक्रमणले ज्यान लिन सक्छ ।

प्रकाशित मिति: २५ बैशाख २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्