मेसीले किन छाडे बार्सिलोना ?


 


स्पेनिस क्लब बार्सिलोनाका लागि सिजन सकिएको छ । प्रशिक्षक रोनाल्ड कोएमनले अर्जेन्टिनी खेलाडी लियोनल मेसीलाई सिजनको अन्तिम खेल अघि नै छुट्टीको अनुमति दिए ।

यो सँगै शनिबार हुने ला लिगाको अन्तिम खेलमा मेसी हुने छैनन् । उपाधि होडबाट बाहिरिसकेको बार्सिलोनाले आइतबार अन्तिम खेल खेल्दैछ । मेसीले यस सिजन धेरै खेल खेले । अन्तिम खेलअघिको आरामले मेसीलाई आफ्नै देशमा आयोजना हुने कोपा अमेरिका अघि केही समय छुट्टी मिलेको छ ।

सन् १९९३ यता कोपा अमेरिका जित्न नसकेको अर्जेन्टिनाका लागि यसपटक घरेलु मैदानमा ट्रफी जित्ने अवसर हुनेछ । यसैबीच मेसीले बार्सिलोनाका लागि खेलेको यसअघिको खेल नै अन्तिम हुन सक्छ । जसमा बार्सिलोना सेल्टाभिगोसँग पराजित भएको थियो ।

उनले सिजन सकिनुअघि आफ्नो भविष्यबारे निर्णय नहुँदै छुट्टी लिएका छन् । यसअघि मेसीले सिजन सकिएपछि भविष्यबारे निर्णय लिने बताएका थिए । अर्कोतिर मेसीका बुबा तथा एजेन्टले क्लबका अध्यक्ष जोन लापोर्टासँग अनौपचारिक कुराकानी गरेपनि कुनै आधिकारिक निर्णय भएको छैन ।

कोएमनले समेत आफ्नो कप्तानको महत्व कति छ भनेर बारम्बार भन्दै आएका छन् । यस्तै लापोर्टा पनि मेसीलाई क्लबमै राख्न चाहन्छन् । नेमार र एर्लिङ हालाण्डलाई क्लब भित्र्याउने असफल प्रयास गरिरहेको बार्सिलोनाले मेसीकै अर्जेन्टिनी टिममेट सर्जियो अगुएरोलाई अनुबन्ध गर्ने तयारी गरेको छ ।

उनी मेसीको एकदमै मिल्ने साथी समेत हुन् । दुवैले उमेर समूहदेखि अर्जेन्टिनाका लागि सँगै खेल्दै आएका छन् । अहिले बार्सिलोनामा के हुन्छ भनेर पेरिस सेन्ट जर्मेन र म्यानचेष्टर सिटीको चासो धेरै रहेको छ ।

फ्रेन्च क्लब पेरिसले यसअघि नै मेसीलाई प्रस्ताव गरिसकेको छ तर बार्सिलोनासँग छलफल नगरी अन्य क्लबसँग कुराकानी गर्न मन लगाएका छैनन् । क्लबको अवस्था बुझेर मात्र आफ्नो निर्णय लिने उनको सोच छ ।

यस्तै सिटी पनि मेसी बार्सिलोनामा बस्न चाँहदैनन् कि भनेर पर्खिरहेको छ । उनीहरुले प्रस्ताव तयार पारिसकेका छन्, तर सिटी मेसीको उपलब्धताबारे सुरुमा स्पष्ट हुन चाहन्छ ।

प्रकाशित मिति: ८ जेष्ठ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्