एमाले स्थायी समितिको बैठक चलिरहेकै बेला देउवाले ओलीलाई फोन गरेपछि…


 


काठमाडौं, कात्तिक ९
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अख्तियार प्रमुख लोकमान सिंह कार्की बिरुद्धको महाभियोग प्रस्ताव सम्बन्धमा टेलिफोन मार्फत छलफल भएको छ ।

संसदीय दलको कार्यालय सिंहदरवारमा एमाले स्थायी समितिको बैठकमा  एमाले नेताहरुले महाअभियोगबारे कांग्रेसले निर्णय गर्न गरिरहेको ढिलाइबारे समिक्षा गरिरहेकै बेला कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई टेलिफोन गरेका हुन् ।

अख्तियारका निलम्बित प्रमुख कार्कीमाथि संसदमा दर्ता महाभियोगका विषयमा निर्णय लिन नसकिरहेको कांग्रेस सभापति देउवासँग ओलीले ढिलाइबारे जिज्ञासा राख्दै ‘तपाईंसँग समेत सहमति लिएर अघि बढाएको प्रस्ताववारे निर्णय लिन किन ढिलो गरिरहनु भएको छ ?’ भनेका थिए ।

ओलीको भनाई उद्धृत गर्दै एमाले स्थायी समितिका एक सदस्यले भने, ‘जल्दोबल्दो मुद्दामा निर्णय लिन भएको ढिलाइले राम्रो सन्देश जाँदैन र यसले परिपक्वता पनि प्रदर्शन हुन सक्दैन ।’

स्रोतका अनुसार देउवाले ढिलै भए पनि आफ्नो पार्टीले महाभियोगको पक्षमा निर्णय लिने आश्वासन दिएका छन् । ‘छलफल चलिरहेको छ, ढिलै भए पनि महाभियोगकै पक्षमा निर्णय लिन्छौं’ देउवाको भनाई उद्धृत गर्दै ती नेताले भने ।

छलफलमा ओलीले देउवालाई छिटो निर्णय लिन पनि सुझाव दिएका थिए ।

प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्