देशभर मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना


 



काठमाडौं, जेठ १२
बंगालको खाडीबाट उत्पन्न भएको यास नामक चक्रवाताको प्रभावले देशभर मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना देखिएको छ ।

अहिले प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यस्तै, बुधबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने मौसमविद मञ्जुबासीले जनाकारी दिए ।

उनका अनुसार प्रदेश १, प्रदेश २, बाग्मती, र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ को एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने गण्डकी, बागमती प्रदेश र प्रदेश १ का हिमाली र उच्च पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्