युरोकपमा आज तीन खेल, कुन कुन टिम भिड्दै ?


 


एजेन्सी, असार ३ 
युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (बिहीबार) तीन खेलहरु हुँदैछ। युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘सी’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ।

आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘सी’ मा रहेको दुई टोलिबीचको खेल साँझ पौने ७ बजे सुरु हुनेछ। आज युक्रेन पहिलो जित निकाल्ने योजनामा हुनेछ। पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३-२ गोल अन्तरले पराजित भएको थियो।

नर्थ म्यासेडोनिया पनि पहिलो जितको खोजीमा हुनेछ। नर्थ म्यासेडोनिया पहिलो खेलमा अष्ट्रियासँग ३-१ ले पराजित भएको थियो। युक्रेन समूहको तेस्रो र नर्थ म्यासेडोनिया चौंथो स्थानमा रहेको छ।

आज हुने दोस्रो खेलमा बेल्जियम र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘बी’ बेल्जियम र डेनमार्कबीचको खेल राति पौने १० बजे सुरु हुनेछ। बेल्जियम आज लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ। पहिलो खेलमा बेल्जियमले रुसलाई ३-० ले हराएको थियो। ३ अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ।

डेनमार्क भने पहिलो जित निकाल्न चाहन्छ। पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १-० ले पराजित भएको थियो। पुछारमा रहेको डेनमार्क पहिलो अंक जोड्न चाहन्छ। आज हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘सी’ मा रहेका दुई टिमबीचको खेल राति पौने १ बजे सुरु हुनेछ।

नेदरल्यान्ड्स लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ। समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३-२ ले हराएको थियो। अष्ट्रिया पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३-१ ले हराएको थियो। 

प्रकाशित मिति: ३ असार २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्