भारत–पाकिस्तानको सीमा क्षेत्रमा फेरि तनाव


 


tanaabकाठमाण्डौ, कार्तिक १३

भारत–पाकिस्तानको सीमा क्षेत्रमा फेरि तनाव भएको छ । सीमा क्षेत्रको नियन्त्रण रेखामा भारतीय सुरक्षाकर्मीले हानेको गोली लागेर आफ्ना ६ नागरिक मारिएको आरोप पाकिस्तानले लगाएको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति निकालेर  शकरगढ सेक्टर र नियन्त्रण रेखाको एक अर्को क्षेत्रमा भएको गोली हानाहानमा दुई महिलासहित आफ्ना ६ नागरिक मारिएको जनाएको हो । घटनामा २२ जना घाइते भएका छन् ।

भारतले भने घटनामा आफ्ना दुई सैनिक र एक बालक मारिएको जनाएको छ । भारतीय पक्षका १२ जना घाइते भएका छन् ।

भारतीय पक्षबाट कारण बिना नै गोली चलाएको आरोप पाकिस्तानको छ । सन् २००३ को युद्धविरामको पालना गरेर नियन्त्रण रेखा तथा सीमामा शान्ति कायम राख्नका लागि भारतसँग पाकिस्तानले आग्रह गरेको छ ।

भारत र पाकिस्तान दुवै देशले नियन्त्रण रेखामा बिना उक्साहट गोली चलाएको आरोप एक अर्कामाथि लगाउँदै आएका छन् । दुई देशबीचको तनावका कारण जम्मु–काश्मिर क्षेत्रका बासिन्दा त्रासमा बाँच्न बाध्य छन् ।

सीमा क्षेत्रका धेरै गाउँका बासिन्दा विस्थापित भएका छन् ।

प्रकाशित मिति: १३ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्