संसदको गतिरोध हटाउन ओलीलाई मनाउँदै देउवा
काठमाडौं, असोज १
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको गतिरोध हटाउने प्रमुख प्रतिपक्षी एमालेका नेता केपी शर्मा ओलीसँग संवाद अगाडि बढाएका छन् । अध्यक्ष ओलीसँग छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उन निवास बालकोट पठाएका हुन् ।
प्रमुख प्रतिपक्षी दलका नेतालाई विश्वासमा लिने देउवाको सन्देश लिएर कार्की ओलीलाई भेट्न बालकोट गएका थिए । संसदको गतिरोध हटाउने विषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेपछि देउवाले आफ्ना विश्वासपात्र कार्की मार्फत संवाद थालेका छन् ।
संसद्को सबैभन्दा ठूलो दल एमालेको सहयोगबिना संसद् सञ्चालन गर्न अप्ठ्यारो पर्ने देखेपछि देउवाले ओलीसँग सम्बन्ध बढाउन चाहेको देखिन्छ । बिहीबारको छलफलमा संसदको गतिरोध अन्त्य र विधेयक अगाडि बढाउने लगायतका विषयमा छलफल भएको कार्कीले जानकारी दिए ।
त्यसका लागि मन्त्री कार्कीले ओलीलाई संसद अवरोध नगरिदिन आग्रह गरेका थिए । एमालेले सभामुखले पार्टी विभाजनका लागि भूमिका खेलेको भन्दै एमाले संसद् अवरोध गरिरहेको छ ।
संसद् अवरोध भएपछि सरकारले ल्याएको बजेट सम्बन्धी प्रतिस्थापन विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित भएको छ । संसद अवरुद्ध भएको अवस्थामा सरकारले बजेटको प्रतिस्थापन विधेयक पारित गर्न नसकेपछि बिहीबारबाट सरकारी खर्च बन्द भएको छ ।
यस्तै ओली सरकारले ल्याएका १५ अध्यादेशमध्ये १२ अध्यादेश निष्क्रिय भएका छन् । निष्क्रिय भएका दुई अध्यादेशका व्यवस्थालाई निरन्तरता दिन सरकारले नयाँ विधेयक संसद्मा दर्ता गरेको छ ।
बुधबार मध्यरातबाट निष्क्रिय भएका फौजदारी कसुर र फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश र यौन हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेशकै व्यवस्था समेटेर नयाँ विधेयक दर्ता गरिएको हो ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका तर्फबाट बिहीबार विधेयक दर्ता भएको हो । दर्ता विधेयक अब संसद्को नियमित प्रक्रियाबाटै अघि बढ्नेछ । निष्क्रिय भएका अध्यादेशकै विषय समेटेर नयाँ विधेयक ल्याइएको हो । मुख्यत बजेटको प्रतिस्थापन विधेयक पारित गर्न असोज ४ गते सोमबारका लागि संसद बैठक बोलाइएको छ ।
उक्त बैठकमा पनि एमालेको अवरोध नहट्ने संकेत देखाएपछि देउवाले सहमतिको प्रयासका लागि विश्वासपात्रमार्फत ओलीसँग संवाद बढाउन खोजेको देखिन्छ । यसअघि भदौ १५ गते पनि प्रधानमन्त्री देउवाले ओलीसँग सम्बन्ध सुधार गर्ने प्रयास गरेका थिए । ओली संवादका लागि प्रधानमन्त्री देउवाले आफ्ना विश्वासपात्र कार्कीलाई बालकोट पठाएका थिए । तर एमालेलाई मनाउने प्रयास सफल हुन सकेन । भदौ २३ गतेदेखि सुरु भएको संसद बैठकमा एमालेले अवरोध जारी राखेको छ ।
प्रकाशित मिति: १ आश्विन २०७८, शुक्रबार