कुलमान घिसिङको दाबी- रास्वपाको ‘नीलो क्रान्ति’ धेरै समय टिक्दैन
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित पार्टीको प्रथम युवा भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सफल होस् भन्ने चाहे पनि सरकार कामकारबाही सन्तोषजनक नभएको बताएका हुन्।
‘यो सरकार सफल होस् भन्ने सुझाव छ। तर, सरकारले राम्रोसँग काम गर्न सकेन भनेर जनतालाई निराश हुन दिँदैनौँ। त्यसको प्रतिवाद गर्छौँ,’ उनले भनेका छन् ।
सरकारले राम्रोसँग काम गर्न सकेन भनेर जनतालाई निराश गरे कडा प्रतिवाद गर्ने समेत उनले बताए ।
रास्वपाले अघि सारेको ‘निलो क्रान्ति’ को लहर पनि धेरै समय नटिक्ने घिसिङको दाबी छ ।
देशको दिगो विकास र राजनीतिक स्थायित्वका लागि ‘हरित क्रान्ति’ मात्रै अन्तिम र भरपर्दो विकल्प भएको चित्रण गर्दै अध्यक्ष घिसिङले आफ्नो पार्टीलाई देशको एक सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष पनि गरेका छन् ।
उनले थप भने- ‘हिजो सङ्घीय संसद्को चुनावमा छोटो समयको तयारी र विभिन्न षड्यन्त्रमा हामीमा फस्न पनि गयौँ। विभिन्न कारणले हामीले उज्यालो नेपाल पार्टीलाई जिताउन सकेनौँ। हामी एकचोटि हार्यौँ, हारबाट अब जित सुनिश्चित गर्दै छौँ हामी।’
पार्टीको आगामी कार्यदिशाबारे स्पष्ट पार्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी सधैं जनताकै बीचमा रहेर उनीहरूको समस्या र मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।
प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार
















