रुपन्देही–३ (क)मा मतगणनामा लफडाको नालीबेली, हारको रिस फेर्न गृहमन्त्री खाणलाई दोष


 


काठमाडौँ, मंसिर ५
आफ्नो पक्षले पदाधिकारीमा हार्ने निश्चित भएको र प्रदेश प्रतिनिधिमा हारेपछि नेपाली कांग्रेसको नेता रामचन्द्र पौडेल समूहले रुपन्देही प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ३ (क)मा लफडा झिकेको छ । लफडा झिकेर सो समूहका मत गणना प्रतिनिधि बाहिरिएपछि प्रदेश सभा क्षत्रीय समितिका पदाधिकारीसहित कार्यसमितिको मत गणना रोकिएको छ ।

क्षेत्रीय प्रतिनिधिको मतगणना सकिँदा १६ प्रतिनिधिमध्य पौडेल समूहबाट एक जनामात्र निर्वाचित भएका थिए । कार्यसमितिमा एक सय मतगणना हुँदा संस्थापनका उम्मेद्वार सुरेन्द्रजंग थापा १९ भोटले अगाडि थिए । प्रदेश सभा क्षेत्रीय सभापतिमा पौडेल समूहबाट पुरणप्रसाद श्रेष्ठ उम्मेदवार छन् ।

प्रतिनिधिमा आफ्नो समूहको लज्जास्पद् हार भएको र कार्यसमितिमा पनि हार हुने निश्चित भएपछि कांग्रेस रुपन्देहीका पूर्वसभापति रामचन्द्र ढकाल, प्रतिनिधि सभा सांसद भरतकुमार शाह, लुम्बिनी प्रदेश सभा सांसद रमा अर्याल, प्रदेश सभाको निर्वाचनका प्रत्याशी हरि न्यौपानेले लफडा झिकेका प्रत्यक्षदर्शीले बताएका छन् । प्रदेश सभा सांसद अर्यालका श्रीमान हेमराज अर्याल प्रदेश प्रतिनिधिमा पराजित भएका थिए । श्रीमानले हारेपछि सबैभन्दा उग्र उनी बनेकी थिइन् ।

आफ्नो समूहको प्रतिनिधिमा र कार्यसमितिमा पराजय निश्चित भएपछि पौडेल समूहले गृहमन्त्री बालकृष्ण खाण र रुपन्देही कांग्रेसका सचिव रामकृष्ण खाणमाथि दोषारोपण गरेर लफडा झिकिएको एक प्रत्यक्षदर्शीले बताए । प्राय गृहमन्त्री खाणको विपक्षमा देखिने प्रतिनिधि सभामा सार्वजनिक लेखा समितिका सभापति शाह पनि गृहमन्त्री खाणलाई अफ्टेरोमा पार्न उपयुक्त मौका भन्दै पौडेल समूहसँगै देखिएका छन् । तर, उनी केन्द्र र जिल्लामा संस्थापन समूहमा छन् । शाह आफ्नो स्वार्थका लागि दही चिउरे बनेको भन्दै जिल्लामा अहिले आलोचना भइरहेको छ । जबकी गृहमन्त्री खाण अहिले काठमाडौँमै छन् ।

कांग्रेस रुपन्देहीका सचिव खाणका अनुसार पौडेल समूहले भनेजस्तो झगडा मत गणनास्थलमा भएको होइन । मदिरा सेवन गरेका २/३ जना कांग्रेसका नेताहरूबीच मतगणनास्थलभन्दा बाहिर सडकमा झडप भएको थियो । मदिरा सेवन गरेर सडकमा झगडा गर्दा कांग्रेस साधारण कार्यकर्ता शैलेष पन्त सामान्य घाइते भएका थिए । त्यही झडपको बहाना बनाएर रुपन्देहीको क्षेत्र नं. ३ ‘क’ को मतगणनामा पौडेल समूहले लफडा झिकेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

प्रदेश प्रतिनिधिमा पति हेमराज पराजित भएको झोँकमा सांसद रमाले मतगणनामा बसेका आफ्नो समूहका प्रतिनिधिलाई तानेर बाहिर लगेकी हुन् । रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ को प्रदेश ‘ख’मा देउवा समूहले क्लिन स्वीप गरेको छ ।

प्रकाशित मिति: ५ मंसिर २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्