गृह प्रदेशमै विमलेन्द्र निधिको प्यानल पदाधिकारीमा ‘क्लिन स्वीप’


 


जनकपुरधाम, पौष ११
नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पदाधिकारीको मतदान सम्पन्न भएको छ । निर्वाचनको मतपरिणाम अनुसार पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलका सबैजनाले पदाधिकारीमा जित हासिल गरेका छन् ।

पार्टीका नेता विमलेन्द्र निधिको गृह प्रदेश भए पनि उनको प्यानलबाट पदाधिकारीमा कसैले जित हासिल गरेनन् । प्रदेश सभापतिमा कृष्णा यादव विजयी भएका छन् भने उपसभापति, महामन्त्री, सह–महामन्त्रीमा समेत उनकै प्यानलबाट सबैले जित हासिल गरेका छन् ।

विमलेन्द्र निधि–शेखर कोइरालाको समूहबाट सभापतिमा उम्मेदवारी दिएका रामसरोज यादवलाई १ सय ४१ मतान्तरले देउवा समूहका कृष्ण यादवले शुक्रवार बिहान विजयी हासिल गरेका थिए भने बाँकी पदको मतगणनामा समेत उनकै प्यानलका उम्मेदवार विजयी भएका छन् ।

उपसभापतिमा कृष्ण यादवको प्यानलका वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भएका छन् । सिंहले १ हजार १९ र यादवले ८९५ मत ल्याएर विजयी भएका हुन् । कोइराल–निधि पक्षका धनलाल ठोकरले ६ सय ३६ र बिनोद कुमार खनालले ७ सय ४० मत प्राप्त गरेका हुन् । उप–सभापतिकै उम्मेदवार राधा प्रसाद यादवले १ सय २४ मत ल्याएका छन् ।

महामन्त्री पदमा कृष्णका प्यानलबाट उपेन्द्रकुमार यादव र बृहस्पति कृष्ण श्रेष्ठ विजयी भएका हुन् । उपेन्द्रले ९५९ र वृहस्पतिले ७८८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नरेश यादवले ७७५, हरेश प्रसाद महतोले ७०३ र बिनोद चौधरिले १९५ मत ल्याएको प्रदेश निर्वाचन समितिले जनाएको छ । महामन्त्रीमा पराजित भएको भनिएका नरेश यादवले मतपरिणामप्रति आपत्ति जनाउँदै उजुरी दिएका छन् । प्रदेश निर्वाचन समितिले यादवलाई पहिले विजयी भएको घोषणा गरेपनि पछि उनको स्थानमा बृहस्पति कृष्ण श्रेष्ठ निर्वाचित भएको घोषणा गरेका हुन् ।

सहमहामन्त्री खुल्लातर्फ जय नारायण प्रसाद यादव र परशुराम चौधरी विजयी भएका छन् भने सहमहामन्त्री महिलातर्फ बिन्दु कुमारी यादव विजय हासिल गरेकी छन् । कृष्ण प्यानलका जय नरायणले ८७९ र प्रशुरामले ८२२ मत ल्याएर जित हासिल गरेका हुन् । उनका प्रतिद्वन्द्धी नारायण चौधरिले ६०१, अरबिन्द अमात्यले २५७, बिनोद कुमार यादबले ६९१ र रामनारायण महासेठले ९७ मत प्राप्त गरे।

महिलातर्फ सहमहामन्त्रीमा बिन्दु कुमारी यादबले ८८९ मत प्राप्त गरि विजयी भएकी छिन् उनका प्रतिद्धन्द्धी भिमादेवी शर्माले ५३२, रिता यादबले १५६ र रेखादेबि महरानले ७६ मत ल्याएकी छन् । साभार अन्नपुर्ण पोष्ट

प्रकाशित मिति: ११ पुस २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्