ए डिभिजन लिगमा आज ३ खेल हुँदै


 


काठमाडौं, माघ २९
शहीद स्मारक ए डिभिजन लिगमा आज दशौँ चरणको तीन खेल हुँदैछ । शीर्ष स्थानमा रहेको मछिन्द्र एफसीले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबसँग दशरथ रंगशालमा खेल्नेछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ ।

जारी लिगमा अपराजित रहेको साविक विजेता मछिन्द्र ९ खेलबाट २३ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट ५ अंक मात्र रहेको च्यासल अन्तिम स्थानमा छ र रेलिगेसनबाट जोगिन संघर्षरत छ ।

उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको मछिन्द्रका लागि च्यासलविरुद्धको खेल महत्वपूर्ण रहेको प्रशिक्षक प्रवेश कटुवालले बताएका छन् ।

आजै दोस्रो स्थानको मनाङ मर्स्याङ्दी र थ्रीस्टारबीचको खेल पनि हुने भएकोले त्यस खेलको नतिजाले पनि मछिन्द्रको उपाधि यात्रालाई फाइदा पुग्न सक्छ । यस खेलमा थ्रीस्टार विजयी भए मछिन्द्रलाई फाइदा हुनेछ ।

मनाङ ९ खेलबाट १९ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको त्रिभुवन आर्मी शुक्रबार जावालखेलसँग बराबरीमा रोकिएपछि उपाधि होडमा मछिन्द्रलाई टक्कर दिने क्लबमा मनाङ नै छ ।

थ्रीस्टार ९ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा छ । मनाङलाई थ्रीस्टारले पराजित गरेमा मनाङसँग नै अंक बराबरीसमेत गर्नेछ । यो खेल दशरथ रंगशालमा ४ः४५ बजे सुरु हुनेछ ।

थ्री स्टारका प्रशिक्षक उर्जन श्रेष्ठले यो खेल ५०-५० हुने बताएका छन् । विगतलाई हेर्दा थ्रीस्टार हाबी रहेकोले पनि यस पटक त्यो एडभान्टेज हुने श्रेष्ठको विश्वास छ ।

कीर्तिमानी आठ पटक लिग जितेको मनाङलाई यसपटक उपाधि होडमा रहन यो खेल निकै महत्वपूर्ण छ । बराबरी वा हारको नतिजाले मनाङका लागि उपाधि होडमा रहन चुनौती बन्नेछ ।

यस्तै आजै विभागीय टोली नेपाल पुलिस क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच खेल हुनेछ । उक्त खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे नै सुरु हुनेछ । यस सिजन एन्फा कम्प्लेक्समा खेल हुने लागेको यो पहिलो पटक हो र लिगको खेल आयोजना हुने यो तेस्रो मैदान बन्नेछ ।

प्रकाशित मिति: २९ माघ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्