स्थानीय तह निर्वाचनका लागि माओवादीले तालमेल गर्न टोली खटाउने


 


काठमाडौँ, चैत्र ३
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा गठबन्धनका घटकसँग चुनावी तालमेलका लागि आवश्यक पहल गर्न टोली गठन गरेर संघ, प्रदेश, जिल्ला र पालिकास्तरसम्म वार्ता र संवाद प्रक्रिया अगाडि बढाउन सबै तहका पार्टी कमिटीलाई निर्देशन दिएको छ ।

फागुनको चौथो सातामा सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माओवादीले सबै तहका पार्टी कमिटीलाई स्थानीय तह निर्वाचन केन्द्रित गतिविधि अघि बढाउन सर्कुलर जारी गरिसकेको छ । सर्कुलरमा वैचारिक राजनीतिक कार्यक्रमदेखि संगठनात्मक कार्यक्रमहरू समावेश गरिएको छ ।

सर्कुलरमा माओवादीले अभियान सञ्चालन गर्दा खास गरी व्यवस्थापकीय पक्ष, सूचना तथा सञ्चारसम्बन्धी कार्यक्रम, अध्ययन, सर्वेक्षण तथा विश्लेषण गर्दै अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । त्यसै गरी सूचना, सञ्चार तथा प्रचारसम्बन्धी कार्यक्रमअन्तर्गत नगरपालिका, गाउँपालिका, वडा र टोलहरूमा सञ्चार तथा प्रसार शाखा इकाइ टोली गठन गर्ने र त्यसरी गठन भएका टोलीहरूलाई सूचना, सञ्चार तथा प्रचारको महत्व र विधिबारे प्रशिक्षित गर्न माओवादीले जोड दिएको छ ।

सर्कुलरमा सामाजिक सञ्जालमा प्रचार समूह निर्माण गर्दै अभियानका गतिविधिको व्यापक प्रचारप्रसार गर्ने नीति बनाउन निर्देशन दिनुका साथै महत्वपूर्ण सूचना तथा समाचार संकलन गर्न र त्यसको रिपोर्टिङ गर्न पनि मातहतका निकायलाई निर्देशन दिइएको छ । नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति: ३ चैत्र २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्