सत्तारूढ पाँच दलीय गठबन्धनप्रति एमाले अध्यक्ष ओलीको नयाँ नयाँ आक्षेप


 


काठमाडौं, चैत्र २९
सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा देशैभरि चुनावी गठबन्धन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफूहरूलाई केही फरक नपर्ने जनाएको छ ।

सोमबार सत्तारूढ पाँच दलीय गठबन्धनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा देशैभरि चुनावी गठबन्धन हुने र एकले अर्कालाई सहयोग गर्ने औपचारिक घोषणा गरेका छन् ।

सो घोषणासँगै एमालेले पाँच दलीय गठबन्धनलाई ‘बालुवाको लड्डु’को संज्ञा दिँदै आफूहरूलाई केही फरक नपर्ने टिप्पणी गरेको छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पाँच दलीय गठबन्धन बालुवाको लड्डुजस्तै भएकाले आफूहरूलाई कुनै फरक नपर्ने बताए ।

देशैभरि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा पार्टीमा प्रवेश गर्नेको लहर चलेकाले यस्ता गठबन्धनसँग पार्टीलाई कुनै फरक नपर्ने उनले बताए ।

यसैबीच चुनावी कार्यक्रममा सोमबार बझाङ पुगेका एमाले अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई ‘लुटमण्डली’को संज्ञा दिएका छन् ।

आगामी निर्वाचन व्यवस्थित होस् भनेर आफूहरूले सहेर बसेको बताउँदै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले मुलुकमा लुट मचाएको आरोप लगाए ।

उनले आगामी निर्वाचनमा देश बिगार्ने एकातिर र देश बनाउने एकातिर हुने बताए । उनले अहिलेको गठबन्धनलाई पाँच भाइको खन्चुवा गठबन्धन भएको संज्ञासमेत दिएका छन् ।

अध्यक्ष ओलीले सेती नदीमा आएको बाढीले बझाङ र बैतडीमा अथाह क्षति गर्दा पनि वर्तमान सरकारले कुनै काम नगरेको आरोप लगाए । राजधानी दैनिकबाट

प्रकाशित मिति: २९ चैत्र २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्