२७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप आजदेखि


 


काठमाडौं, असार ९
सरकारले २७ जिल्लामा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको खोप दिँदै छ । खोप कार्यक्रम विद्यालयबाट नै सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले पायक पर्ने विद्यालयमा खोप केन्द्र तोकेर दुई चरणमा गरी बालबालिकालाई खोप दिन लागेको जानकारी दिए ।

पहिलो चरणमा आजदेखि १५ गतेसम्म २७ जिल्लामा खोपको पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने छ । त्यस्तै, बाँकी रहेको ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान सञ्चालन हुनेछ ।

यसैबीच, खोप लगाएका बालबालिकामा केही स्वास्थ्य समस्या देखिन सक्ने भएकाले नआत्तिन स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ ।

खोप लगाए पछि टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या देखिन सक्ने विभागले जनाएको छ। यस्तो समस्या देखिए नआत्तिन र समस्या जटिल बन्दै गए अस्पताल जान विभागको आग्रह छ ।

प्रकाशित मिति: ९ असार २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्