सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण पुनः बढ्दै


 


सुदूरपश्चिम, असार १०
सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । गएको फागुनदेखि कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएकामा पछिल्ला केही दिनदेखि सङ्क्रमण बढ्न थालेको हो ।

पछिल्ला दुई दिनमा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । निर्देशनालयको तथ्याङ्कमा गएको २४ घण्टामा नौ जनामा यो रोगको सङ्क्रमण भएको उल्लेख छ ।

कोरोना भाइरसको आशङ्कामा बुधबार ३५९ जना र आज बिहीबार ३२८ जनाको नमूना परीक्षण गरिएको थियो । पछिल्ला दिनमा यो रोगको सङ्क्रमण दर केही बढे पनि फागुनयता रोगले हुने मृत्युदर भने शून्य छ ।

भारतमा यो रोगको सङ्क्रमण बढेसँगै नेपालमा पनि यो रोगको सङ्क्रमण बढ्ने जोखिम देखिएको सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीको भनाइ छ ।

सीमा नाकामा रोकथामका लागि गर्नुपर्ने सतर्कतामा लापरवाही भइरहँदा यो रोगको सङ्क्रमण बढ्न थालेको बताइएको छ । सीमानाका हुँदै भित्रिनेको नमूना परीक्षणको कामलाई प्रभावकारी बनाउँदै सङ्क्रमण फैलिन नदिन आवश्यक व्यवस्था गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रकाशित मिति: १० असार २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्