कांग्रेसमा प्रदेश संसदीय दलका लागि नेताहरुको दौडधुप सुरू


 


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयन भएसँगै अब सबैको ध्यान प्रदेश संसदीय दलको नेता चयन तर्फ गएको छ । गगन थापालाई पराजित गरेर शेरबहादुर देउवा मंगलबार पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको थियो ।

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाका लागि संसदीय दलको नेतामा कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री देउवा निर्वाचित भएपछि अब सबैको ध्यान सातै प्रदेशका कांग्रेस संसदीय दलको नेता को बन्ला भन्ने तर्फ गएको छ ।

कांग्रेसले प्रदेश संसदीय दलको निर्वाचनका लागि मिति तय गरिसकेको छ । प्रदेश संसदीय दलको नेता बन्नका लागि नेताहरुको भित्रि दौडधुप सुरु भइसकेको छ ।

शीर्ष नेतृत्व समक्ष नेताहरुले दलको नेता हुन चाहनेहरूले दाबेदारी पेश गरिरहेका छन् । संसदीय दलको नेता बन्ने तयारी गरिरहेकाहरूले सांसदहरूलाई आ–आफ्नो पक्षमा पार्न भित्रभित्रै तयारी पनि गरिरहेका छन् ।

सोही क्रममा बागमती प्रदेशको संसदीय दलको नेताका बालिया दाबेदारका रूपमा बहादुरसिंह लामा पनि अगाडि बढ्नु भएको छ । उता कांग्रेसको बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँ पनि प्रदेश संसदीय दलको नेताका लागि तयारी गरिरहनु भएको छ । तर विगतमा पनि कांग्रेसको वागमती प्रदेश संसदीय दलको नेताका रुपमा काम गर्नु भएका बानियाँले संसदीय दलको नेताका हैसियतमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको र आफ्नो गृह जिल्ला रहेको मकवानपुरमा कांग्रेसको संगठन बलियो बनाउन प्रयास नगरेको मात्रै होइन गत स्थानीय निर्वाचन र संघीय संसद र प्रदेश सभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको कांग्रेस नेताहरुको आरोप छ ।

लामा नुवाकोटको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेशसभा ख बाट निर्वाचित सांसद हुनुहुन्छ भने बानियाँ मकवानपुरको प्रतिनिधिसभा २ तर्फको प्रदेशसभा क्षेत्र ख बाट निर्वाचित सांसद हुनुहुन्छ । यस अघि कांग्रेस भित्र पार्टी सभापति देउवाको आशीर्वाद पाएर प्रदेश सभापति र बागमती प्रदेश संसदीय दलको नेता बन्नु भएका बानियाँलाई कहिले कांग्रेस नेता डा. शेखर कोइराला समूह त कहिले संस्थापन पक्षतिर लाग्ने दोहोरो चरित्रका कारण देउवा पक्षले पत्याउन छाडेको कांग्रेस नेताहरुको दाबी छ ।

बानियाँको विकल्पमा संस्थापन अर्थात देउवा पक्षले साझा उम्मेदवारको रुपमा बहादुर सिंहलाई अगाडि बढाएको कांग्रेस नेताहरु बताउँछन् । बहादुर सिंह दुई पटक कांग्रेस केन्द्रीय सदस्य पनि भइसक्नु भएको छ । देउवाले नपत्याएपछि बानियाँ कोइराला समूहबाट संसदीय दलको उम्मेदवार बन्न लाग्नु भएको नेताहरुको भनाइ छ ।

बानियाँले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीको नीति विपरित काम गरेपछि उहाँ कमजोर देखिनु भएको कांग्रेस कार्यताहरुको भनाइ छ । निर्वाचनमा बानियाँले पार्टी हित विपरित अन्तर्घात गरेपछि कांग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ र आनन्दराम पराजुलीले हार व्यहोर्नु परेको थियो ।

दुई पटक समानुपातिक सांसद भइसकेकी डिनाले यो पटक मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा प्रत्यक्षमा निर्वाचन लड्नु भएको थियो । तर बानियाँको अन्तर्घातका कारण पराजय व्यहोर्नु परेको थियो । त्यस्तै मकवानपुर १ को प्रदेशसभा २ मा टिकट पाउनु भएका पराजुली पनि बानियाँले पनि अन्तर्घातका कारण हार व्यहोर्नु परेको थियो । बानियाँले अन्तर्घात गरेको कुरा पार्टी सभापति देउवा सम्म पुगिसकेको छ । डिना पनि देउवा निकट नेता हुनुहुन्छ ।

बानियाँले देउवाकै नजिकका नेताहरूलाई हराउने कुटिल चाल चलेको आरोप छ । जसले बानियाँमाथि अब विश्वास गर्ने कुनै आधार नभएको निष्कर्षमा देउवा पक्षका नेताहरु पुगेका छन् । देउवासँग सम्बन्ध बिग्रिएपछि बानियाँ कोइराला समूहतिर लाग्नु भएको छ । बानियाँको तुलनामा बहादुर सिंहको राजनीतिक कद निकै उँचो रहेको कांग्रेस नेताहरु बताउँछन् ।

बागमती प्रदेशसभा निर्वाचित सांसदमा देउवा प्यानलको बहुमत रहेको छ । कांग्रेस केन्द्रीय सदस्यसमेत रहनु भएका नुवाकोटका बहादुरसिंह मुख्यमन्त्री हुने सर्तमा प्रदेशसभामा झरेर आफ्नो गृहक्षेत्रमा अर्जुननरसिंह केसीलाई जिताइदिएपछि उहाँलाई प्रकाशमान सिंह र केसी समूहको समेत साथ मिल्ने नेताहरुको भनाइ छ ।

कांग्रेस प्रदेश संसदीय दलको जो नेता बन्छ भोलि अवसर आउँदा उही मुख्यमन्त्री बन्ने भएकाले इमान्दार, जनभावना बुझेको कार्यकर्ताको दुःख सुखमा साथ दिने नेताको रुपमा बहादुर सिंह योग्य नेता रहेको बुझाइ देउवा निकट नेताहरुको छ । त्यसकारण बहादुरलाई बलिया उम्मेदवारको रुपमा हेरिएको छ । तर बहादुरलाई सर्वसम्मत नेता चयन गर्ने प्रयास भइरहेकको पनि कांग्रेस नेताहरु बताउँछन् ।

प्रकाशित मिति: ८ पुस २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्