मधेस प्रदेश सरकारमा कांग्रेस पनि सहभागी


 


काठमाडौं, जेठ ९ । जसपा नेतृत्वको मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ। केन्द्रमा सत्तारुढ दस दलीय गठबन्धनको मर्मअनुसार मधेश प्रदेशमा पनि कांग्रेस सहभागी हुन लागेको हो । कांग्रेस दुई मन्त्रालयसहितको भागबन्डामा सरकारमा सहभागी भएको छ ।

कांग्रेसबाट संसदीय दलका नेतासमेत रहेका कृष्णप्रसाद यादव र वीरेन्द्रकुमार सिंह प्रदेश सरकारमा मन्त्री भएका छन्। मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसबाट प्रदेश सरकारमा सहभागी उनीहरुलाई क्रमशः भौतिक पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।

दुवै जनालाई आज दिउँसो १ बजे सपथ खुवाइने तयारी भइरहेको छ। कांग्रेस तत्कालका लागि सरकारमा सहभागी भए पनि भागबन्डामा थप दुई मन्त्रालय मागेको छ।

साथै कांग्रेसले मधेस प्रदेशसभामा एमालेबाट निर्वाचित सभामुख रामचन्द्र मण्डललाई हटाएर सो पद आफूले पाउनुपर्ने अडान पनि राखेको छ।

सम्भवतः आजै नेकपा एसलाई पनि मुख्यमन्त्री यादवले सरकारमा सहभागी गराउने तयारी गरेको बताइएको छ।

प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्