सुदूरपश्चिमले माग्यो विशेष अधिकार, अर्थमन्त्रीलाई ज्ञापनपत्र


 


काठमाडौं, जेठ ९ । सुदूरपश्चिम प्रदेश सरकारले संघीय अर्थमन्त्री डा. प्रकाशशरण महतलाई प्रदेश सरकारलाई स्रोत परिचालनमा विशेष अधिकार दिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको नेतृत्वमा आएको टोलीले आज (मंगलबार) अर्थमन्त्री महतलाई प्रदेश सरकारलाई स्रोत परिचालनमा विशेष अधिकार दिन माग गर्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सभामुख, प्रमुख प्रतिपक्ष दलका नेता र प्रदेश सरकारका मन्त्रीहरुको सहभागिता रहेको थियो ।

अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएपश्चात सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सुदूपश्चिम प्रदेश आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले संघीय सरकारसँग स्रोत परिचालनमा विशेष अधिकार प्रदेश सरकारलाई दिन माग गरेको बताए । उनले संघीय सरकारका अर्थमन्त्री महतले प्रदेश सरकारको मागमा आफू सकारात्मक भएको बताउनुभएको जानकारी दिए ।

उनले सुदूरपश्चिम प्रदेशलाई विगतमा संघीय सरकारले बनाएका नीति, सरकारी स्रोतको प्रयोगमा सुदूरपश्चिमलाई गरिएको उपेक्षा र लगानीको प्राथमिकतामा उपेक्षाका कारण स्रोतमा कमजोर भएको बताए ।

प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्