सेल्फी खिच्दा मोबाइल ‘ड्याम’मा खसेपछि…जागिर चट्
भारतमा एक जना सरकारी कर्मचारीको मोबाइल सेल्फी खिच्ने बेला सिँचाइका लागि निर्मित बाँध (ड्याम)मा खसेपछि त्यहाँको पुरै पानी निकालिएको छ ।
भारतको छत्तिसगढको कंकर जिल्लामा निर्मित खेरखट्टा ड्याममा खसेको आफ्नो मोबाइल खोज्नको लागि पूरै बाँध खाली गर्न लगाएपछि उनी कारबाहीमा परेका छन् ।
कंकर जिल्लाका अधिकारी प्रियंका शुक्लाले यसरी पानीको नोक्शान गर्नु गलत काम भएको भन्दै छानबिन नभएसम्म राजेशलाई जागिरबाट निलम्बन गरिएको बताए ।
खाद्य अधिकारी राजेश विश्वासको हातबाट उनको एक लाख भारतीय रुपैयाँ बराबरको सामसुङको मोबाइल बाँधमा खसेको थियो । उनले त्यो मोबाइलमा महत्वपूर्ण सरकारी डाटा रहेको भन्दै बाँधबाट बीस लाख लिटर पानी निकालेका थिए । मोटरको सहायता लिएर पनि यति पानी खाली गर्न तीन दिन लागेको थियो । मोबाइल भेटिएता पनि त्यसमा पानी पसेर चल्न सकेको छैन ।
यसरी मोबाइल निकाल्न ड्यामको पानी निकालेपछि उनको तीव्र आलोचना भइरहेको छ । उनले खाली गरेको पानीले ६ सय हेक्टर जमिन सिँचाइ गर्न सकिने अधिकारीहरुले बताएका छन् । बीबीसी