अमेजनमा फसेका बालबालिकाको ४० दिनपछि जिवितै उद्दार


 


एजेन्सी । विश्वको सबैभन्दा ठूलो तथा घना जंगलमा फसेका चार बालबालिकालाई ४० दिनपछि जिवितै उद्दार गरिएको छ ।

गत मे १ तारिखका दिन अराराकुयरादेखि काक्युटासम्म उडेको विमान विस्फोटन भएपछि उनीहरू विमानसँगै कोलम्बियास्थित अमेजन जंगलमा खसेका बालबालिकाको जिवितै उद्दार गरिएको हो । यो घना र डरलाग्दो जंगलमा ४० दिन बिताए उनीहरु बाँच्न सफल भएपछि सबै आश्चर्यचकित भएका छन् ।

सो दुर्घटनामा ती चार बालबालिकाकी आमा र दुई पाइलटको घटनास्थलमै मृत्यु भयो । तर, उनीहरू भने बाँचे । विमान दुर्घटना भएर जंगलमा बजारिँदा १३ वर्षे बालिका लेजलीसँगै ९, ४ र १ वर्षे उनका भाइबहिनीहरू जिवित्तै रहन सफल भए ।

पहिलो कुरा त बालबालिका विमान दुर्घटनामा भाग्यवश बाँचे, दोस्रो आश्चर्यको कुराचाहिँ उनीहरू ४० दिनसम्म डरलाग्दो अमेजन जंगलमा कसरी बाँचे ? स्थानीयले भने यो घटनालाई चमत्कार भनेका छन् ।

उनीहरूले ४० दिनसम्म जंगली फल खाएको खोजकर्ताहरूले बताएका छन् । उनीहरूले विमान दुर्घटनापछि विमानमै भएका पिठो, फलफूलका दाना पनि खाएको पाइएको छ । खोजकर्ताहरूले दुर्घटनास्थलमा शव भेटे पनि बच्चा भने भेट्न सकेका थिएनन् ।

भूउपग्रह, हेलिकोप्टर, प्रशिक्षित कुकुरको सहयोगमा सेना र प्रहरीसँगै स्थानीय हुईटोटो आदिवासी समूहले महिना दिनसम्म बालबालिका खोजीमा सहयोग गरेका थिए । किनभने ती बालबालिका सोही आदिवासी समूहका हिस्सा थिए । बाँच्नका लागि बालबालिकाहरू जंगली फल, पात र पिठो खाँदै ४० दिनसम्म भौतारिएका थिए ।

खोजकर्ताले बच्चाहरूका पाइला, टोकिएका जंगली फल पछ्याउँदै उनीहरूलाई काक्वेटा प्रान्तको जंगलमा भेट्न सफल भएका हुन् । हेलिकोप्टरबाट उद्धार गरेर उनीहरूलाई अस्पताल लगिएको थियो । उमेरमा सबैभन्दा जेठी १३ वर्षे लेजलीले आफ्ना तीन भाइबहिनीलाई बचाउन आफू पछाडि हिँडाएका रहेछन् ।

शनिबार मात्र उनीहरूलाई राखिएको सैन्य अस्पतालमा देशका राष्ट्रपति गुस्ताभो पेट्रो र रक्षामन्त्री इभान भेलास्केज पुगेका थिए । जंगलमा आफ्ना भाइबहिनीलाई खाना दिएर बचाउन सफल भएपछि उनीहरूले लेजलीलाई स्याबासी दिए ।

यो जंगलको ६० प्रतिशत क्षेत्र ब्राजिलमा र अन्य क्षेत्र कोलम्बिया, इक्वेडर, पेरु, भेनेजुयलालगायतका क्षेत्रमा पर्छ । ६७ लाख वर्ग किलोमिटरमा फैलिएको यो जंगल बाक्लो र घनासँगै उत्तिकै खतरनाक पनि छ ।

यहाँ विषालु सर्प, भ्यागुता र किरा पाइन्छन् भने यस जंगलका बनस्पती र रुख पनि विषयुक्त हुन्छन् । त्यसमाथि यो जंगलमा अजिंगर र ज्याग्वारजस्ता जनावर पनि पाइन्छन् ।

यस जंगलमा एकैदिन बस्न पनि कठिन छ । यो जंगलमा प्रवेश गर्दा मानिसहरू हतियार र अन्य बन्दोबस्तीका साथ जानुपर्छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्