म्याकडोनाल्डको अनौठो विश्व रेकर्ड, सात दिनमा सात आश्चर्य घुमे


 


एजेन्सी । ग्लोचेष्टर इंग्ल्याण्डका जेमी म्याकडोनाल्डले विश्वका सातैवटा आश्चर्य सबैभन्दा कम समयमा घुमेर विश्व रेकर्ड कायम गरेका छन् ।

उनले गत मार्चमा मात्रै विश्वका सात आश्चर्य सात दिनभन्दा कम समय लगाएर विश्व रेकर्ड बनाएका हुन् ।

एडभेन्चरम्यान भनेर चिनिने उनले गत मार्चमा आफ्नो यात्रा चीनको ग्रेट वालबाट सुरु गरेका थिए । चीनबाट उनी भारतको आग्रामा रहेको ताजमहल घुम्न आएका थिए । त्यसपछि उनी जोर्डनको पेट्रामा पुगे ।

एसियामा अवस्थित संसारका सातमध्ये तीन आश्चर्य घुमेपछि उनी युरोपतर्फ हानिएका थिए । इटालीमा रहेको कोलोसियम पुगेपछि उनको यात्रा एटलान्टिक महासागर पारी ब्राजिलको क्रिस्ट द रिडिमर र पेरुको माचु पिचुमा सोझियो ।

यात्रा सुरु भएको छ दिन १६ घण्टा १४ मिनेटमा म्याकडोनाल्डको यात्रा मेक्सिकोको चिकेन इट्जामा टुंगिएको थियो ।

यसरी ७ दिनभन्दा कम समयमा संसारका सबै आश्चर्य घुमेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गरेका उनले १३ उडान भरे भने १६ पटक ट्याक्सीको प्रयोग गरे ।

यस यात्रामा उनले नौपटक बस र चारपटक रेलको प्रयोग गरेका थिए । यस दौरान उनले नौ लाख ३६ हजार आठ सय ८३ किलोमिटर यात्रा गरेका थिए ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्