साताैं राष्ट्रिय खेलकुद पुसमा


 


काठमाडौ, मंसिर ७

पटक पटक स्थगित भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी पुसको पहिलो साताबाट सञ्चालन हुने भएको छ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको अध्यक्षतामा आज बसेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० बोर्ड बैठकले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी पुस ८ देखि १५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको राखेप सदस्य–सचिव केशवकुमार बिष्टले जानकारी दिए ।

मङ्सिरको दोस्रो सातादेखि गर्ने भनिएको उक्त प्रतियोगिताका लागि आवश्यक तयारी नपुगेको र सरकारले उपलब्ध गराउने बजेट आर्थिक निर्देशिका पारित नहुँदासम्म रकम निकासा नहुने कारण देखाउँदै प्रतियोगिता पुनः स्थगन गरिएको थियो ।

त्यस्तै विस २०७० सालमा आयोजना हुने निर्णय गरिएपनि राजनीतिक गतिरोध, मधेस आन्दोलनलगायतका कारणले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अहिलेसम्म हुन सकेको छैन् ।

राष्ट्रिय प्रतियोगिता अयोजनाका लागि परिषद्ले सरकारसँग रु ३७ करोड माग गरेको थियो । हालसम्म रु २० करोड निकासा भइसकेको छ । शारीरिक सुगठन, पौडी र ट्रायथलन खेलको राष्ट्रिय प्रतियोगिता यसअघि नै सम्पन्न भइसकेकाले पुसमा हुने प्रतियोगितामा ३२ खेलमात्र समावेश हुनेछ ।

प्रकाशित मिति: ७ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्