प्रत्येक प्रदेशका दुई जिल्लालाई पूर्ण दुरसञ्‍चारयुक्त बनाइने : मन्त्री शर्मा


 


काठमाडौं, असार २८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्ष प्रत्येक प्रदेशका दुई जिल्लालाई पूर्ण दुरसञ्‍चारयुक्त जिल्लाको रूपमा विकास गरिने बताएकी छन् ।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा अन्य सदस्यहरूले राखेको जिज्ञासाको सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएकी हुन् ।

देशभर गुणस्तरीय दूरसञ्‍चार सेवा पुर्‍याउन आवश्यक पूर्वाधारहरू थप गर्ने कार्य प्रभावकारी रूपमा अघि बढाइएको उल्लेख गर्दै उनले सेवा नपुगेका, सिग्नल कम देखिएका तथा माग भएका स्थानमा सेवा विस्तार तथा गुणस्तर सुधार गर्न मन्त्रालय अग्रसर भएको बताइन् ।

सूचना तथा सञ्‍चारको पहुँच वृद्धि गर्ने उद्देश्यले शुरु गरिएको ब्रोडव्याण्ड इन्टरनेट सेवा सवै स्थानीय तहका केन्द्रमा पुगेको जानकारी गराउँदै उनले सब वडा तहमा गुणस्तरीय इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य लिइएको बताइन् ।

४ हजार ३ सय ९० स्वास्थ्य केन्द्र र ५ हजार ३ सय १८ सामुदायिक माध्यमिक विद्यालयमा समेत ब्रोडव्याण्ड इन्टरनेट जडान कार्य सम्पन्‍न उल्लेख गर्दै उनले नेपाल दुरसञ्चार प्राधिकरणमार्फत आगामी आर्थिक वर्षमा ब्रोडव्याण्ड इन्टरनेट सबै सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रमा विस्तार गर्ने कार्य प्रारम्भ गरिएको जानकारी गराइन् ।

प्रकाशित मिति: २८ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्