मधेशका अर्थमन्त्री भट्टराईसँग नाडाको भेट, अटोमोबाइल क्षेत्रका प्राथमिकता प्रस्तुत



जनकपुरधाम, २० जेठ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईसँग भेटवार्ता गरेको छ।

व्यापारिक समुदायसँग संवाद गर्ने मन्त्री भट्टराईको पहलमा आयोजित भेटमा नाडाले अटोमोबाइल क्षेत्रलाई प्रादेशिक आर्थिक संरचनाको महत्वपूर्ण अंगका रूपमा प्रस्तुत गरेको थियो। नाडाका अनुसार यस क्षेत्रले कुल सरकारी राजस्वमा २० प्रतिशतभन्दा बढी योगदान पुर्‍याउँदै देशभर करिब एक लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ।

भेटका क्रममा नाडाले तीन प्रमुख विषयलाई प्राथमिकताका साथ उठाएको थियो। दर्ता शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) संरचनामा बहुवर्षीय स्पष्टता, माध्यमिक शहरका डिलरशिपलाई विद्युतीय सवारीसाधन चार्जिङ केन्द्रका रूपमा विकास गर्न संयुक्त कार्यदल गठन तथा विद्युतीय सवारीसाधनतर्फको संक्रमणलाई सहज बनाउन सेवा प्राविधिकको पुनःतालिममा प्रादेशिक सहयोग आवश्यक रहेको नाडाले जनाएको छ।

छलफलका क्रममा अध्यक्ष उप्रेतीले कर छुटभन्दा पनि नीतिगत स्पष्टता आवश्यक रहेको बताए। उनले लागत संरचनाबारे दीर्घकालीन स्पष्टता भए डिलरहरूले ग्रामीण क्षेत्रमा सेवा केन्द्र विस्तार गर्न र प्राविधिक जनशक्ति नियुक्त गर्न सहज हुने धारणा राखे। सोही क्रममा नाडाले अर्थ मन्त्रालयसँग नियमित संवादको संयन्त्र स्थापना गर्न प्रस्तावसमेत गरेको थियो।

भेटमा अर्थमन्त्री भट्टराईले मधेश प्रदेशमा लगानीको वातावरण सुदृढ बनाउन र निजी क्षेत्रको लगानी बढाउन आवश्यक सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताए। प्रदेशको आर्थिक विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको उनको भनाइ थियो।

छलफलमा मधेश प्रदेशकी श्रम तथा यातायातमन्त्री शारदा देवी थापा, राजस्व अधिकृत जयकुमार राउत तथा नाडाका निवर्तमान अध्यक्ष करण चौधरी, विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठ र महासचिव मिलनबाबु मल्लको पनि उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्