शाेकमा डुब्याे विश्व फुटबल


 


jahaj-accidentएजेन्सी, मंसिर १५

ब्राजिलको फुटबल क्लब चापेकोएन्सेले कोलम्बियामा भएको जहाज दुर्घटनामा टिमका धेरै जसो खेलाडी गुमाएपछि विश्व फुटबल अहिले शोकमा डुबेको छ । फुटबल खेलाडी, क्लब, प्रशिक्षक तथा समर्थकले विमान दुर्घटनामा ज्यान गुमाएका चापेकोएन्सेका खेलाडीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

६८ यात्रु र चालक दलका ९ सदस्य गरी ७७ जना रहेको जहाज कोलम्बियामा मंगलबार दुर्घटना भएको हो । कोलम्बियाको मेडेल्लिन शहर नजिक ब्राजिलको फुटबल क्लब चापेकोएन्सेका खेलाडीसहितका यात्रु रहेको विमान दुर्घटना भएको हो ।

jahaj-accident-1सुरुमा विमानमा ८१ जना रहेको भनिएको थियो । तर चार जना यात्रु विमानमा नगएकाले ७७ जना मात्रै भएको कोलम्बियाका अधिकारीले बताएका छन् । दुर्घटना भएको विमानमा २१ जना पत्रकार पनि थिए । दुर्घटनामा ६ जना बाँच्न सफल भएका छन् । त्यसमध्ये तीन जना खेलाडी छन् ।

बोलिभियाबाट उडेको चाटर्ड जहाजमा रहेका टिमका खेलाडी साउथ अमेरिकी क्लब कपको फाइनलमा कोलम्बियाको टिम एथ्लेटिको नेसिओनलसँग खेल्न गएका थिए । दुई टिमबिच बुधबार फाइनल हुने तय भएको थियो ।

सन् २०१४ देखि ब्राजिलको सिरी ए खेल्न थालेको चापेकोएन्स पहिलो पटक अन्तर्राष्ट्रिय क्लब प्रतियोगिताको फाइनलमा पुगेको थियो । दुर्घटनापछि कोलम्बियन क्लब एथ्लेटिको नेसिओनलले चापेकोएन्सलाई च्याम्पियन घोषणा गर्न प्रस्ताव गरेको छ ।

क्लबले आफ्ना समर्थकसँग खेल हुने निर्धारित समयमा सेतो लुगा लगाएर रंगशाला आएर खेलाडीप्रति सम्मान प्रकट गर्न आग्रह गरेको छ ।
यसैबिच ब्राजिलको पहिलो डिभिजनका तीन क्लबले चापेकोएन्सलाई निशूल्क रुपमा खेलाडी उपलब्ध गराउने बताएका छन् ।

jahaj-accident-2तीन क्लबले संयुक्त विज्ञप्ति निकालेर दुर्घटनामा चापेकोएन्सका धेरैजसो खेलाडी तथा पदाधिकारीको ज्यान गएकाले निशूल्क खेलाडी दिने प्रस्ताव गरेका हुन् । फ्लामेन्गो, पाल्मेइरास र साओ पाउलोले खेलाडी दिने बताएका हुन् ।

यस्तै उनीहरुले चापेकोएन्सलाई आउँदो तीन सिजन रेलिगेशनबाट जोगाउन लिगसँग आग्रह गरेका छन् । विमान दुर्घटनामा ज्यान गुमाएका खेलाडी तथा अरु मानिसको सम्झनामा स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोनाले आफ्नो प्रशिक्षण अघि एक मिनेट मौनधारण गरेका छन् ।

यस्तै बार्सिलोनाका नेइमार तथा लियोनल मेस्सी, म्यानचेस्टर युनाइटेडका वायने रुनीसहितका खेलाडीले दुर्घटनामा ज्यान गुमाएका खेलाडीप्रति सम्मान प्रकट गरेका छन् ।

प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्