नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित


 


nepali-women-cricket-teamकाठमाडौं, मंसिर १६

आयोजक थाइल्याण्डसँग ८ विकेटले पराजित भएसँगै एसीसी महिला एसिया कप टि–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो पराजय बेहोरेको छ ।

बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज बिहान सम्पन्न खेलमा घरेलु टोली थाइल्याण्डले नेपालबिरुद्ध ८ विकेटको सहज जित दर्ता गरेको हो ।

प्रतियोगितामा यसअघी खेलेका आफ्ना तीन वटै खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिइसकेको नेपाल बिहीबार थाइल्यान्डसँग सान्त्वना जितको खोजिमा थियो ।

तर खेलमा ६४ रनको विजयी लक्ष्य पछ्याएको थाइल्यान्डले १६ ओभरमा मात्र २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो । नेपालका लागी दुवै विकेट सरिता मगरले लिइन् ।

खेलमा यसअघी टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल निर्धारित २० ओभरको १ बल बाँकी छँदा ६३ रनमै अलआउट भयो । थाइल्याण्डबिरुद्धको यो स्कोर नेपालले जारी प्रतियोगितामा बनाएको सबैभन्दा उच्च स्कोर हो ।

नेपालका लागि ज्योती पाण्डेले सर्वाधिक १६ रनको योगदान गर्दा अन्य कुनै ब्याट्सवुमनले दोहोरो अंक छुन सकेनन् । सिता राना मगरले ९ रन बनाएको इनिङमा कप्तान रुबिना क्षेत्रीले ८ तथा नेरी थापाले ७ रन जोडे ।

जारी प्रतियोगितामा अंकविहीन रहेको नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले, दोस्रो खेलमा श्रीलंकासँग ८ विकेटले हार्दा तेस्रो खेलमा बंगलादेशसँग ९२ रनको हार बेहोरेको थियो ।

श्रीलंकाविरुद्ध २३ रन मात्र जोड्न सकेको नेपालले नेपाली महिला क्रिकेट इतिहासकै न्युन स्कोरको रेकर्ड कायम गरेको थियो ।

यसअघि सन् २०१४ को इन्चोन एसियाली खेलकुद प्रतियोगितामा नेपालले बंगलादेशविरुद्धको खेलमा २६ रन बनाएको थियो । प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल शुक्रबार भारतसँग भिड्ने छ ।

प्रतियोगितामा आयोजक थाइल्यान्डबाहेक सबै टेष्ट मान्यता प्राप्त राष्ट्रसँग प्रतिष्पर्धा गरेको नेपालको कमजोर प्रदर्शनले नेपाली महिला क्रिकेटको बास्तविक अवस्था उजागर गरेको छ ।

घरेलु संरचनानै नभएको नेपाल क्रिकेट संघ क्यानलाई आइसीसीले प्रतिबन्ध गरेपछि त झन् महिला क्रिकेटका घरेलु प्रतियोगिताहरु आयोजना हुन सकेका छैनन् ।

प्रकाशित मिति: १६ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्