आज राती क्लब फुटबलको सबैभन्दा रोमाञ्चक खेल हुँदै


 


messi_rondaldoएजेन्सी, मंसिर १८

क्लब फुटबलको सबैभन्दा प्रतिक्षित बार्सिलोना र रियल म्याड्रिडबीचको खेल शनिबार नेपाली समयअनुसार राती नौ बजेदेखि सुरु हुँदैछ। विश्वका फुटबल प्रेमीले प्रतिक्षा गरेको यो खेलबाट बार्सिलोना क्लबको दशा र दिशा तय हुनेछ।

किनभने स्पेनको घरेलु लिग ‘ला लिगा’ मा बार्सिलोना आफ्नो चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडभन्दा स्पष्ट ६ अंकले पछि परिसकेको छ।
यस्तो अवस्थामा घरेलु मैदान नोउ क्याम्पमा खेल गुमाउनु भनेको क्याटलान क्लबका लागि ‘ला लिगा’ को उपाधि होडमा पुनरागमन गर्नु असम्भव झै हुनेछ।

आजको खेललाई धेरै अर्थमा महत्वपूर्ण मानिएको छ। यस वर्ष पनि सर्वोत्कृष्ट खेलाडीको होडमा रहेका अर्जेन्टिनाका लिओनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो परस्पर प्रतिद्धन्द्धीको रुपमा पुनः मैदानमा उभिने छन्।

अर्को रोचक तथ्य, म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान र बार्साका लुइस एनरिक कुनै बेला खेलाडीको भूमिकामा पनि एक–अर्काका प्रतिद्धन्द्धी थिए।

जिदान पहिलो पल्ट प्रशिक्षकको भूमिकामा नोउ क्याम्पको भ्रमण गर्दैछन्। उनलाई यसै वर्ष म्याड्रिडले प्रशिक्षक नियुक्त गरेको थियो। आजको खेल अमेरिकामा मात्र करिब २० लाख व्यक्तिले हेर्ने अपेक्षा गरिएको छ, जुन फुटबल उत्तिसारो लोकप्रिय नभएको देशका लागि भूइँचालो गए सरह मानिएको छ।

फुटबलको ‘पागल देश’ भनेर चिनिने बेलायतीहरूले भने टेलिभिजन अधिकार नभएका कारण आफ्नो देशमा प्रत्यक्ष प्रसारणमार्फत यो खेल हेर्न पाउने छैनन्।

विश्वको सय देशमा आजको खेल एकै पल्ट प्रत्यक्ष प्रसारण हुँदैछ। स्पेनको यी दुई भेट्रान क्लबबीचको खेललाई ‘अल क्लासिको’ को उपमा दिने गरिन्छ। म्याड्रिड नौ महिना १ दिनपछि बार्सिलोनाको घरेलु मैदानमा फुटबल खेल्न जाँदैछ।

गत सिजन बार्सिलोनालाई उसैको मैदानमा २–१ ले पराजित गरेको म्याड्रिडका लागि यसपालि पुरानै नतिजा निकाल्नु भनेको फलामको चिउरा चपाउनु सरह हुनेछ। त्यतिबेला म्याड्रिडले बार्सिलोनाको ३९ खेलको अपराजित यात्रामा विराम लगाएको थियो।

यो खेलको पराजयपछि बार्सिलोना अघिल्लो ४ मध्ये तीन खेल गुमाउँदै च्याम्पियन्स लिगबाट दुर्भाग्यपूर्ण रुपमा बाहिरिएको थियो। फुटबल विश्लेषकहरूले आजको खेललाई सन् २००२ को भिड्न्तसँग दाजेका छन्।

अर्जेन्टिनाका पूर्व कप्तान हुँवा रोमन रिक्युल्मे बार्सिलोनाबाट खेलेको त्यो खेलमा पोर्चुगलका अर्का स्टार तथा पूर्व कप्तान लुइस फिगो म्याड्रिडमा समावेश थिए। र, खेल गोलरहित बराबरीमा टुँगिएको थियो। घरेलु बार्सिलोनाका लागि आज पुरानो बदला लिने मात्र होइन, प्रशिक्षकको भूमिकामा जिदानको पुनरागमनसँगै स्पेनिस लिगमा म्याड्रिडको बढ्दो दबदबालाई रोक्ने अवसर पनि हो।

जिदानको प्रशिक्षणमा म्याड्रिड १३ खेलको अपराजित यात्रामा छ। गत सिजनदेखिको हिसाब गर्ने हो भने लस ब्लान्कोजको यो लगातार ३१ अपराजित यात्रा हो। पछिल्लो दुई खेलमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ह्याट्रिकसहित ५ गोल गरेका छन्।

त्यसैले यतिबेला जिदान नोउ क्याम्पको भ्रमणलाई लिएर उत्साही पनि छन्। तर, ‘विङ’ र ‘काउन्टर अट्याक’ मार्फत विपक्षी टोलीलाई दबाबमा राख्न खप्पीस म्याड्रिडका लागि स्टार विङ्गर गारेथ वेलको अनुपस्थिती आजको खेलमा खड्किने सम्भावना बलियो छ।

वेल च्याम्पियन्स लिगअन्तर्गत स्पोर्टिङ लिस्बनविरूद्धको खेलमा कुर्कुचामा चोट बोक्न बाध्य भएका थिए। उनी तीन महिना विश्राममा छन्।

आजको खेलमा जिदान ४–२–३–१ कै फर्मेसनमा मैदानमा उत्रिने सम्भावना बलियो छ। ‘म्याड्रिड डर्बी’ मा एट्लेटिको म्याड्रिडलाई हराउँदा उनले यही फर्मेसनमा खेलाडी उतारेका थिए। जसमा रोनाल्डोको ह्याट्रिकको मद्धतले रियल म्याड्रिडले ३–० ले खेल जितेको थियो।

म्याड्रिडका लागि यतिबेला सुखद पक्ष भनेको स्पेनिस प्लेमेकर इस्कोको राम्रो फर्म पनि हो। फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा त्यति फर्ममा नरहे पनि इस्को उत्कृष्ट फर्ममा छन्।

उनले एट्लेटिकोविरूद्ध रोनाल्डोलाई ह्याट्रिक गर्न थुप्रै अवसर जुराइदिएका थिए। यस्तै, डिफेन्सिभ ‘लेफ्ट विङ’ मा ब्राजिलका मार्सेलोको प्रभावशाली उपस्थिति पनि जिदानका लागि खेल जित्ने बलियो आधार बनेको छ। तर, यी सबै कुराका बीच म्याड्रिडलाई आफ्नो प्रतिकूल मैदानमा विश्वका तीन खतरनाक स्ट्राइकर लिओनल मेसी, नेइमार र लुइस सुआरेजबाट जोगिन धेरै मेहनत गर्नु पर्ने पक्का छ।

फेरि, कप्तान आन्द्रेस एनिस्टा आजको खेलमा फर्किने खबरले क्याट्लान टोलीमा उत्साह थपिएको छ। चोटका कारण यो महिना टोली बाहिर रहेका एनिस्टाको अनुपस्थितिमा बार्सिलोनाले आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न सकेको थिएन्।

त्यसैले बार्सिलोना अन्तिम ६ मध्ये २ खेलमा पराजित भएको थियो। एनिस्टाको अनुपस्थितिमा अर्का प्रभावशाली मिडफिल्डर सर्गियो बस्क्युटले पनि आशाअनुरुप प्रदर्शन गर्न सकेका थिएनन्।

एनिस्टाको खुबी भनेको उनी तल झरेर ‘डिफेन्सिभ लाइन’लाई पनि सहयोग गर्छन्। अगाडि प्रतिकूल अवस्थामा पनि अचुक पास मिलाउन खप्पीस आफ्नो कप्तान फर्किएको खण्डमा बार्सिलोनाले आफ्नो तीनवटै स्ट्राइकरमार्फत एकै पल्ट म्याड्रिडको गोलपोस्टमा आक्रमण गर्ने पक्का छ।

एनिस्टाको अभावमा नेइमारले केही खेलमा तल झरेर मेसीलाई पास उपलब्ध गराउदै आइरहेका थिए। त्यसैले ओलम्पिकमा ब्राजिललाई स्वर्ण दिलाएर बार्सिलोना फर्किएपछि नौ खेलमा ६ गोल गरेका नेइमार पछिल्लो सात खेलमा गोलबिहिन बन्न पुगेका थिए।

तरपनि उनी विपक्षी टोलीका लागि खतरनाक बन्दै आइरहेका छन्। उनले च्याम्पियन्स लिग र ‘ला लिगा’मा गरेर गोलका लागि १२ वटा पास मिलाइसकेका छन्।

यसै साता ‘ला लिगा’ अन्तर्गत रियल सोसिडाडसँग खेल्दा मेसी लामो बलमा त्यति आत्मविश्वासी देखिएका थिएनन्। यद्यपी उनले नेइमारको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा राख्न सहयोग गरे। तर, छोटो र सटिक पास नभेटाउदा उनी केही विचलित देखिएका थिए।

झन त्यसमा सोसिडाडले उनको लागि ‘डबल मार्किङ’ स्वरुप विशेष रुपले दुई खेलाडी खटाएपछि मेसीका अगाडि चुनौती थपिएको थियो।
आजको खेलमा आफ्नो अगाडि मेसी नै समस्या हुने म्याड्रिडका प्रशिक्षक जिदानले स्विकार गरिसकेका छन्।

त्यसैले उनी मेसीलाई रोक्ने नयाँ उपाय बोकेर यतिबेला नोउ क्याम्प पुगिसकेका छन्। अहिले सबैको चासो भनेको पनि त्यही हो। के जिदानले मेसीलाई रोक्ने अचुक उपाय फेला पारिसकेका छन्?

प्रकाशित मिति: १८ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्