अमेरिकी संसद्‍मा दङ्गा गर्ने समूहका नेतालाई २२ वर्ष कैद सजाय


 


काठमाडौं । सन् २०२१ को ज्यानुअरीमा अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकद्वारा अमेरिकी संसद् भवनमा भएको दङ्गाको योजना बनाएको आरोपमा ुप्राउड बोइजु समूहका एक पूर्वनेतालाई २२ वर्षको जेल सजाय सुनाइएको छ।

‘क्यापिटलु भनिने अमेरिकी संसद् भवनभित्र त्यसबेला भएको घटनामा संलग्नहरूलाई दिइएको यो नै सबैभन्दा लामो सजाय हो। उनलाई गत मे महिनामा सरकारविरुद्धको षड्यन्त्र र अन्य केही आरोपमा दोषी ठहर्‍याइएको थियो।

३९ वर्षीय एनरिके तारिओ उक्त घटनाका समयमा वाशिङ्टनमा थिएनन् तर त्यहाँ भएको दङ्गामा उनले उक्त चरम दक्षिणपन्थी समूहको सङ्लग्नताको संयोजन गर्न सघाएका थिए। उक्त घटनामा संलग्नताको आरोपमा १,१०० भन्दा बढी मानिसहरू पक्राउ परेका छन्।

मङ्गलवार आफूमाथि हुने सजाय थाहा पाउनुअघि तारिओले भावुक भएर प्रहरी र वाशिङ्टन डीसीका मानिसहरूसँग सन् २०२१ ज्यानुअरी ६ को घटनामा आफ्नो संलग्नताका लागि माफी मागेका थिए।

त्यति बेला जो बाइडनले राष्ट्रपतीय निर्वाचन जितेको प्रमाणित गर्नका लागि सांसदहरूको बैठक भइरहेका समयमा डोनल्ड ट्रम्पका समर्थकहरू संसद् भवनभित्र प्रवेश गरी आक्रमण गरेका थिए।

उनका वकिलहरूका अनुसार तारिओले पुनरावेदन गर्ने योजना बनाएका छन्। सन् २०२० को चुनावपछि तारिओ र उनको समूहका सदस्यहरूले ट्रम्पले राष्ट्रपति कार्यालय छाडेमा हिंसा भड्काउने धम्कीपूर्ण अनलाइन सन्देशहरू पठाएका थिए।

सन् २०२१ को ज्यानुअरीको घटनाको दुई दिनअघि उनी वाशिङ्टन डीसी प्रवेश गर्दा उनलाई प्रहरीले रोकेका थिए। यसअघि यस घटनाका सम्बन्धमा तोकिएको सबैभन्दा लामो कैद सजाय १८ वर्षको थियो।

ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय चुनावमा आफू विजयी भएमा प्रायः दङ्गाकारीहरूलाई माफी दिने आश्वासन दिएका छन्। बीबीसीबाट

प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्