नेमारले गरे महान खेलाडी पेलेको कीर्तिमानसंग बराबरी


 


बोलिभिया । ब्राजिलका स्टार फरावर्ड नेमारले ब्राजिलकै सर्वकालीन महान खेलाडी पेलेको नाममा रहेको सर्वाधिक गोलकर्ताको कीर्तिमानसंग बराबरी गरेका छन् ।

फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटको खेलमा शनिबार ब्राजिलले घरेलु टोली बोलिभियालाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दा नेमारले यो कीर्तिमान राखेका हुन् ।

नेमारले शनिबार नै पेलेलाई पछाडि छाड्ने अवसर पाएका थिए। पहिलो हाफको १७औं मिनेटमा उनी पेनाल्टीमा चुक्दा पेलेको कीर्तिमानलाई पछाडि पार्न भने सकेनन्। नेमारले एक सय २५औं खेलमा ७७ गोल गर्दै पेलेसँगको कीर्तिमान बराबरी गरेका हुन्।

कीर्तिमान बराबरी गरेपछि उनले आफूले यो कीर्तिमानसम्म पुग्ने कल्पनासम्म नगरेको बताएका छन् । समग्रमा ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी भने महिला खेलाडी मार्टा छिन्। उनले एकसय ८९ खेलमा एक सय २२ गोल गरेकी छन्।

गत डिसेम्बरमा ८२ वर्षको उमेरमा निधन भएका पेलेले सन् १९५७ देखि १९७१ को समयमा ८२ खेलमा ७७ गोल गरेका थिए। पेले आफ्नो समयको महान खेलाडी थिए।

सन् २०१७ मा नेमार विश्वकै सर्वाधिक महंगा खेलाडी बनेका थिए। सन् २०१७ मा दुई सय मिलियन पाउन्डमा स्पेनिस क्लब बार्सिलोनाबाट उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका थिए। उनले यही वर्ष पीएसजीको बसाइलाई बिट मार्दै साउदी अरेबियाको प्रो लिग क्लब अल हिलालमा आवद्ध भएका थिए।

दक्षिण अमेरिकी छनोटमा ब्राजिललाई प्रभावशाली जित दिलाउन नेमारसँगै रोड्रिगोले दुई गोल गरेका थिए। अर्को खेल गोल राफिन्हाले थपेका थिए। पहिलो खेल खेलेको ब्राजिल तीन अंकका साथ शीर्ष स्थानमा छ।

शनिबार नै भएको अर्को खेलमा उरुग्वेले चिलीलाई ३–१ गोलले पराजित गरेको थियो। दक्षिण अमेरिकी छनोटमा १० राष्ट्रको सहभागिता रहेको छ।

प्रकाशित मिति: २४ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्