पूर्वगृहमन्त्री घिमिरे दुर्घटनामा पर्नुको कारण खुल्यो, यस्तो छ रिपोर्ट


 


काठमाण्डौ, मंसिर २३
पूर्वगृहमन्त्री माधव घिमिरेले ट्रकलाई ओभरटेक गर्न खोज्दा गाडी अनियन्त्रित भई दुर्घटनामा परेको प्रतिवेदन सार्वजनिक भएको छ ।

जीप दुर्घटनाबारे पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा गठित छानविन समितिले यस्तो प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको हो ।

छानविन समितिले बुझाएको प्रतिवेदनमा उक्त दुर्घटना आपराधिक उद्देश्यले नभएको र दुर्घटना भएका बेला गाडी पूर्वमन्त्री घिमिरे आफैँले नै चलाएको उल्लेख छ ।
गत असोज ९ गते पोखराबाट काठमाडौं र्फकने क्रममा पूर्वगृहमन्त्री घिमिरे चढेको गाडी चितवनको दारेचोक नजिकै घोप्टेभीरमा दुर्घटना भई त्रिशुली नदीमा खसेको थियो ।

त्रिशुलीमा डुबेर वेपत्ता भएका घिमिरेको शव अहिलेसम्म फेला पर्न सकेको छैन ।

दुर्घटनालगत्तै सरकारले पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

छानविन समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री विमलेन्द्र निधिले प्रतिवेदनमा सिफारिस भएका विषयहरु इमान्दारिताका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन्  ।

प्रकाशित मिति: २३ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्