ब्याडमिन्टनमा भाेजपुरकाे दबदबा कायमै, पूर्वाञ्चलबाट खेलाडी छनौटमा काे–काे परे ?


 


धनकुटा, मंसिर २४
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाञ्चलबाट ब्याडमिन्टन खेलका लागि खेलाडी छनौट प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । धनकुटा सदरमुकामको कभर्ड हलमा बिहीबार भएको फाइनल छनौटमा पूर्वाञ्चलका पुरुषतर्फ सात र महिलातर्फ पाँचजना छनौट भएकाछन् ।

प्रतियोगितामा प्रथम स्थानसहित भोजपुरका विवेक श्रेष्ठ, उपविजेता खोटाङका जीवन आचार्य तथा भोजपुरकै विशाल मोक्तान, सुनसरीका सुजन श्रेष्ठ, सुनसरीका प्रकाश लिम्बू, झापाका प्रनिश ठकुरी र भोजपुरका सुवास तामाङ छनौट भएका छन् ।

छनौट प्रतियोगिताको फाइनलमा पुरुष सिङ्गलतर्फ भोजपुरका विवेक श्रेष्ठले खोटाङका जीवन आचार्यलाई २३–२१, २१–१५ को सोझो सेटमा हराउँदै प्रथम स्थान हासिल गरे । महिलातर्फ प्रथम स्थानसहित मोरङका सीमा राजवंशी तथा उपविजेता खोटाङका सुजाता राई छनौट भएका छन् ।

यसैगरी छनौट भएका अन्य खेलाडीमा सीताकुमारी राई भोजपुर, रीमा कर्माचार्य सुनसरी र नीता लम्साल मोरङ रहेकाे छन् । महिलातर्फको फाइनल खेलमा मोरङका सीमा राजवंशीले खोटाङका सुजाता राईलाई २१–१४ पराजित गर्दै प्रथम स्थान हासिल गरेकी थिइन ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सम्पन्न भएको छनौट प्रतियोगितामा पूर्वाञ्चलका १६ जिल्लाबाट पुरुषतर्फ ६७ र महिलातर्फ ४२ जनाको सहभागिता रहेको थियो । छनौटमा परेका खेलाडी आगामी राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछन् ।

प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्