दुर्घटनामा तीन जनाको मृत्यु


 


उदयपुर, मंसिर २४

उदयपुरमा यात्रुबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २६ जना घाइते छन् ।

खोटाङको प्रसिद्ध हलेसी महादेव मन्दिरको दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री सवार बा ४ ख ३६२० नम्बरको बस उदयपुरको लेखानीमा शुक्रबार बिहान दुर्घटना भएको हो ।

चालकसहित ४२ जना रहेको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै र एकजनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकमध्ये सप्तरीका १३ वर्षीय दिपेश रामको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । उनको पेटमा गम्भीर चोट लागेको थियो ।

गम्भीर अवस्थाका दुई जना घाइतेलाई उपचारका लागि धरानको घोपा अस्पताल रिफर गरिएको छ ।

अन्य २४ जनाको भने जिल्लास्थित कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।घाइतेहरु अधिकांशको टाउको र हातखुट्टामा चोट लागेको छ ।

प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्