जब भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निल्यो…


 


काठमाडौं । भारतको महाराष्ट्रमा एउटा भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेपछि एक किसानले तनाव ब्यहोर्नु परेको छ ।

महाराष्ट्रको वाशिम जिल्लास्थित सारसी गाउँ निवासी रामहरि नाम गरेका किसानकी पत्नीको मंगलसुत्र घाँससंगै भैँसीले निलेपछि भैँसीको अपरेशन गर्नुपरेको छ ।

यस्तो थियो घटना
रामहरिकी पत्नीले नुहाउनु अघि मङ्गलसूत्र खोलेर भटमास र बदामको बोक्रा राखिएको एउटा प्लेटमा लुकाएकी थिइन् । नुहाइसकेपछि उनले आफ्नो मङ्गलसूत्र त्यहाँ राखिएको ध्यान नै दिइनन् ।

केही बेरमा उनले भटमास र बदामको बोक्रा भएको प्लेट भैँसीको अगाडि लगेर राखिदिइन् । पछिमात्र उनले आफ्नो गलामा मङगलसूत्र नरहेको थाहा पाइन् ।

त्यसपछि उनलाई नुहाउनु अघि आफूले मङ्गलसूत्र खोलेर राखेको सम्झना भयो तर, भटमास र बदामको बोक्रासहितको प्लेट त उनले अघि नै भैँसीको अगाडि राखिदिइसकेकी थिइन् । भैँसी बाँधेको ठाउँमा गएर हेर्दा प्लेट रित्तो थियो ।

त्यसपछि उनले आफ्नो पतिलाई यसबारे जानकारी गराइन् । रामहरिले यसबारे पशु चिकित्सकलाई फोनमार्फत जानकारी गराए । पशु चिकित्सकले भैँसी लिएर आउन उनलाई भने ।

सोही अनुसार भैँसी लिएर रामहरि पशु कार्यालय पुगे । पशु चिकित्सकले परीक्षण गर्दा भैँसीको पेटमा धातु रहेको पत्ता लाग्यो ।

अर्को दिन पशु चिकित्सकले शल्यक्रियामार्फत भैँसीको पेट चिरेर उक्त मङ्गलसूत्र निकाले । यस क्रममा भैँसीको पेटमा ६५ वटा टाँका लगाउनु परेको बताइएको छ ।

प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्