सभामुख घर्ती युएई जाँदै


 


काठमाडाैं, मंसिर २५

सभामुख ओनसरी घर्ती आज युएई जाँदै छिन । चार दिने औपचारिक भ्रमणका लागि घर्ती आज युएई जान लागेकि हुन ।

संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग राख्दै प्रतिपक्षी दलले लगातार संसद बैठक अवरुद्ध गरी सदनको काम कारबाही अघि बढ्न नदिइरहेका बेला सभामुख विदेश भ्रमणमा जान लागेकि हुन ।

युएईमा हुने महिला सभामुखहरुको कार्यक्रममा सहभागी हुन सभामुख घर्ती आज साँझ ५ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार बबिन शर्माले बताए ।

सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक, महाअभियोगको प्रस्ताव लगायतका विषयमाथि छलफल र प्रक्रिया अघि बढाउन सदन चालु रहनु पर्ने बेलामा सभामुख घर्ती युएई जान लागेको भन्दै आलोचना समेत भएको छ ।

संशोधन विधेयक राष्ट्रघाती रहेकाले फिर्ता गर्नुपर्ने भन्दै एमाले लगायतका विपक्षी दलहरुले पछिल्ला चारवटा संसद् बैठक अवरुद्ध गरेका छन् । विधेयक फिर्ता नभएसम्म सदन चल्न नदिन उनीहरुको अडान छ ।

प्रतिपक्षी दलको अवरोधका कारण लगातार सदन अवरुद्ध रहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव अलपत्र परेको छ ।

प्रकाशित मिति: २५ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्